Banijya News

कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशतमा सीमित, सेवा क्षेत्रमा निर्भर अर्थतन्त्र

1
1.0K Shares

कर्णाली प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८२/८३ मा २.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार कर्णालीको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी रहे पनि कृषि, उद्योग र पर्यटन क्षेत्रमा भने अपेक्षित सुधार हुन सकेको छैन।

कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ५८.४१ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै कृषि क्षेत्रको योगदान ३१.५२ प्रतिशत र उद्योग क्षेत्रको योगदान १०.०७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। यसले प्रदेशको अर्थतन्त्र मुख्य रूपमा सेवा क्षेत्रमा आधारित रहेको देखाउँछ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि सेवा क्षेत्रकै वर्चस्व छ। प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये ८५.२१ प्रतिशत सेवा क्षेत्रमा गएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। समीक्षा अवधिमा सेवा क्षेत्रमा जाने कर्जा ८.३४ प्रतिशतले वृद्धि भएको छ।

कृषि क्षेत्रको अवस्था भने मिश्रित देखिएको छ। प्रदेशमा खाद्यान्न बाली लगाइएको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा ०.५४ प्रतिशतले बढेको छ। धान खेती हुने क्षेत्रफल २.९४ प्रतिशतले घटे पनि मकै, गहुँ र कोदो लगायतका बाली लगाउने क्षेत्रफल विस्तार भएको छ।

तर क्षेत्रफल बढे पनि समग्र कृषि उत्पादनमा भने गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा समग्र कृषि बालीको उत्पादन ०.६५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि खाद्य तथा नगदे बालीको उत्पादन ३.५५ प्रतिशतले बढेको छ। तरकारी र फलफूल उत्पादन क्रमशः ३.७६ र ४.०५ प्रतिशतले घटेको छ। कृषि उत्पादनमा यस्तो अवस्था देखिए पनि बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा कुल कर्जाको ७.२७ प्रतिशत मात्र लगानी गरेका छन्।

उद्योग क्षेत्रको अवस्था पनि सन्तोषजनक देखिएको छैन। अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३०.९८ प्रतिशत मात्रै रहेको छ। उद्योगहरूमध्ये राडीपाखी उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ६६.६७ प्रतिशत क्षमता उपयोग गरेका छन्। यसको विपरीत प्रशोधित दूध उत्पादन गर्ने उद्योगले आफ्नो कुल उत्पादन क्षमताको १०.१९ प्रतिशत मात्रै उपयोग गर्न सकेका छन्। औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ७.२४ प्रतिशत रहेको छ।

त्यसैगरी, कर्णालीको पर्यटन क्षेत्रमा पनि गिरावट आएको छ। समीक्षा वर्षमा प्रदेशमा आउने बाह्य पर्यटकको संख्या २७.६८ प्रतिशतले घटेको छ। विशेषगरी भारत, चीन तथा अन्य तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा कमी आएको प्रतिवेदनले देखाएको छ। पर्यटन क्षेत्रको गतिविधि घट्दा यससँग सम्बन्धित होटल, यातायात तथा अन्य सेवा व्यवसायमा समेत प्रभाव पर्न सक्ने देखिन्छ।

वित्तीय पहुँचका दृष्टिले भने प्रदेशमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति विस्तार भएको छ। २०८३ असार मसान्तसम्म कर्णालीमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ४८१ पुगेका छन्। प्रदेशको कर्जा–निक्षेप अनुपात ६०.१५ प्रतिशत रहेको छ।

पूर्वाधार विकासतर्फ पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी–बबई डाइभर्सनजस्ता ठूला आयोजनाको निर्माणले गति लिइरहेको प्रतिवेदनमा उल्लेख छ। यी आयोजनाले आगामी दिनमा यातायात, व्यापार, पर्यटन तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

रोजगारीका सन्दर्भमा भने वैदेशिक रोजगारीप्रतिको निर्भरता कायमै देखिएको छ। एक वर्षको अवधिमा कर्णाली प्रदेशबाट ३० हजार ४९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्।

1

Scroll to Top