नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको भए पनि आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले हाल कायम मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो ।
निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा अस्थिरता देखिँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव पेट्रोलियम पदार्थको आयात मूल्यमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ ।
निगमले आईओसीबाट २०८३ कात्तिक १४ गते नयाँ खरिद मूल्य प्राप्त गरेको थियो । नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको बिक्री मूल्य समायोजन गर्नुपर्ने अवस्था रहे पनि चाडपर्वको समयमा उपभोक्तालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत् राखिएको निगमले स्पष्ट पारेको छ ।
निगम सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले साविककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो । निर्णयअनुसार पेट्रोल र डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य भने प्रतिकिलोलिटर काठमाडौंका लागि एक हजार ६९७ अमेरिकी डलर, भैरहवाका लागि एक हजार ४६८ अमेरिकी डलर र पोखराका लागि एक हजार ४८४ अमेरिकी डलर कायम गरिएको छ ।
त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ (१४.२ केजी) नै कायम राखिएको निगमले जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दा डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यासको हकमा उद्योगबाट ५० किलोमिटरसम्मको दूरीलाई आधार मानेर मूल्य कायम गरेको छ ।
मूल्य निर्धारणका लागि क्षेत्रगत वर्गीकरणसमेत गरिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई राखिएको छ । दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन् ।
यद्यपि, अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार बिक्री मूल्य समायोजन नगर्दा निगममाथि आर्थिक भार थपिएको छ । निगमका अनुसार हाल कायम मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा पनि पाक्षिक रूपमा तीन अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भइरहँदा उपभोक्तालाई राहत दिन मूल्य यथावत् राख्ने निगमको निर्णयले तत्काल उपभोक्तालाई राहत पुग्ने देखिए पनि निगमको आर्थिक दायित्व भने थप बढ्ने अवस्था छ । पेट्रोलियम पदार्थको मूल्यमा देखिएको अन्तर्राष्ट्रिय अस्थिरता र बढ्दो घाटाले आगामी दिनमा मूल्य समायोजनको चुनौती थपिन सक्ने देखिन्छ ।



