झापा दमक मुलघर भएका ३१ वर्षीय इनम सापकोटा पछिल्लो समय नेपालको राजनीतिक, प्रशासनिक तथा न्यायिक वृत्तमा चर्चाको केन्द्र बनेका छन् । आफूलाई भारतीय दूतावासमा गोप्य रूपमा काम गर्ने र प्रधानमन्त्रीसँग निकट सम्बन्ध भएको व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका सापकोटाको सम्पर्क उच्चपदस्थ न्यायाधीश, प्रहरी अधिकारी, सैनिक अधिकारी, राजनीतिज्ञ तथा व्यवसायीसम्म रहेको अनुसन्धानबाट खुलेको छ ।
एउटा सामान्य पृष्ठभूमिका व्यक्तिले शक्तिकेन्द्रमा रहेका व्यक्तिहरूसम्म कसरी पहुँच बनाए र आफ्नो प्रभाव देखाउन कसरी सफल भए भन्ने विषय अहिले चर्चामा छ । अझ सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको अन्तर्वार्तापछि सापकोटाको पहुँच र सम्बन्धबारे थप प्रश्न उठेका छन् ।
सापकोटाले आफूलाई शक्तिशाली व्यक्तिहरूसँग निकट रहेको दाबी गर्दै विभिन्न व्यक्तिलाई प्रभावित पार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । भारतीय दूतावासमा गोप्य काम गर्ने र प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध रहेको जस्ता दाबीका कारण न्यायिक, सुरक्षा निकाय तथा राजनीतिक वृत्तका व्यक्तिहरूसमेत उनीप्रति आकर्षित भएको देखिन्छ ।
चोलेन्द्र जबराको मोबाइलबाट सुरु भयो अनुसन्धान
इनम सापकोटामाथिको प्रहरी अनुसन्धान पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणबाट सुरु भएको थियो । असोज ११ गते सुरक्षा जोखिम रहेको भन्दै जबरालाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएको थियो । त्यहाँ उनको मोबाइल परीक्षण गर्दा सापकोटासँग पटक–पटक फोन सम्पर्क भएको विवरण फेला परेको थियो । त्यसपछि प्रहरीले सापकोटाको खोजी सुरु गरेको थियो । असोज १४ गते सापकोटा दिल्ली जान लागेका बेला सादा पोसाकका प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएका थिए । त्यसअघि उनीविरुद्ध कुनै उजुरी वा मुद्दा दर्ता भएको थिएन ।
प्रहरीले नियन्त्रणमा लिएपछि उनका दुईवटा मोबाइल फोन परीक्षण गरेको थियो । मोबाइलमा भेटिएका सम्पर्क, सन्देश तथा अन्य विवरणले अनुसन्धानको दायरा फराकिलो बनाएको थियो । सापकोटालाई सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो ।
चोलेन्द्र र इनमबीच कसरी भयो चिनजान ?
प्रहरीलाई दिएको जानकारीअनुसार सापकोटाको पूर्वप्रधानन्यायाधीश जबरासँगको चिनजान पारिवारिक सम्बन्धमार्फत विस्तार भएको देखिन्छ । सापकोटाले जबराका छोरा सचेन्द्र जबरालाई बाल्यकालदेखि नै चिन्ने गरेको बताएका छन् । उनीहरू दुवै लिटिल एन्जल्स स्कुलमा अध्ययन गरेका थिए । विद्यालयमा भएको चिनजान विस्तारै पारिवारिक भेटघाट र सम्पर्कमा परिणत भएको सापकोटाको भनाइ छ । त्यही चिनजानका आधारमा जबरा परिवारसँग उनको सम्पर्क बढेको देखिन्छ । तर उनीहरूबीचको वास्तविक सम्बन्ध, सम्पर्कको उद्देश्य र त्यसबाट भएका सम्भावित गतिविधिबारे अनुसन्धान जारी छ ।
सापकोटाको सम्पर्कमा को-को थिए ?
प्रहरी अनुसन्धानबाट सापकोटाको सम्पर्क न्यायालय, सुरक्षा निकाय, राजनीतिक दल र व्यावसायिक क्षेत्रका विभिन्न व्यक्तिसँग रहेको विवरण फेला परेको छ । प्रहरीका अनुसार उनको सम्पर्क पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, पूर्वन्यायाधीश नवराज थपलिया, अदालतका बिचौलिया भनिने दीपक तिमिल्सिना, जबराका भाइ प्रभुशमशेर जबरा तथा व्यवसायी नवीनराज बस्नेतसँग रहेको पाइएको छ । त्यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री दीपक खड्का र कांग्रेस नेता उमेश श्रेष्ठसँग पनि उनको कुराकानी हुने गरेको विवरण प्रहरीले फेला पारेको दाबी गरेको छ । यी सम्पर्कका आधारमा सम्बन्धित व्यक्तिहरू कुनै कसुरमा संलग्न रहेको निष्कर्ष निकाल्न भने मिल्दैन । उनीहरूसँगको सम्पर्कको प्रकृति र उद्देश्यबारे अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ ।
अदालतमा चलखेलदेखि बढुवा र ठेक्कापट्टासम्मका विवरण
सापकोटाको मोबाइलबाट प्राप्त विवरणले अनुसन्धानलाई थप गम्भीर बनाएको छ । उनको मोबाइलमा अदालतका मुद्दामा चलखेल गर्ने, विभिन्न व्यक्तिको बढुवा गराउने तथा मुद्दा मिलाइदिने आश्वासन दिने विषयसँग सम्बन्धित कुराकानी भेटिएको बताइएको छ । त्यसैगरी ठेक्कापट्टामा प्रभाव पार्ने र विदेशमा सम्पत्ति व्यवस्थापन गर्ने विषयसँग सम्बन्धित विवरणसमेत फेला परेको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ । यिनै विषयलाई आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान अघि बढाएको छ । सापकोटाको आर्थिक कारोबार, रकमको स्रोत, पैसा कहाँबाट आयो र कहाँ खर्च भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । व्यवसायी तथा उच्चपदस्थ अधिकारीहरूसँग उनको आर्थिक सम्बन्ध कस्तो थियो र सम्पर्कका आधारमा कुनै मुद्दा, निर्णय वा प्रशासनिक प्रक्रियामा प्रभाव पार्ने प्रयास भएको थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानको दायरामा छ ।
सापकोटाको सम्पर्कले सुरक्षा निकायमा समेत असर
सापकोटासँगको सम्पर्कको विषयले न्यायालय र राजनीतिक वृत्तमा मात्रै होइन, सुरक्षा निकायमा समेत प्रभाव पारेको छ । उनसँगको सम्पर्कका आधारमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल बर्खास्त भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै सापकोटालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदनसमेत अदालतले खारेज गरेको छ । यसले सापकोटाको सम्पर्क र सम्बन्धको विषय सामान्य फोन संवादमा मात्रै सीमित नरहेको देखाएको छ । यद्यपि कुनै व्यक्तिसँग सम्पर्क हुनु र गैरकानुनी गतिविधिमा संलग्न हुनु फरक विषय हुन् ।
राज्य संयन्त्रको निरीहतामाथि प्रश्न
सापकोटाको घटनाले राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूको निर्णय क्षमता, सूचना परीक्षण गर्ने प्रणाली र शक्तिकेन्द्रसँगको सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ । आफू भारतीय दूतावासमा गोप्य रूपमा काम गर्ने र प्रधानमन्त्रीसँग निकट सम्बन्ध रहेको दाबी गर्ने व्यक्तिले उच्चपदस्थ अधिकारी तथा राजनीतिक व्यक्तिहरूको नाम लिएर आफ्नो प्रभाव विस्तार गर्न सकेको देखिन्छ । उनको वास्तविक हैसियत पहिचान नगरी विभिन्न तहका व्यक्तिहरू उनीसँग सम्पर्कमा रहनुले राज्य संयन्त्रभित्रको कमजोरीसमेत उजागर गरेको छ ।
अहिले प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सापकोटाको सम्पर्क सञ्जाल, आर्थिक कारोबार र सम्भावित प्रभावका विषयमा अनुसन्धान गरिरहेका छन् । उनी कसको स्वार्थमा काम गरिरहेका थिए, कसलाई कुन प्रकारको आश्वासन दिएका थिए र ती सम्पर्कबाट कसैले अनुचित लाभ लिएको थियो वा थिएन भन्ने प्रश्नको जवाफ अनुसन्धानले नै दिनेछ ।
एउटा ३१ वर्षीय युवाले शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्ध देखाएर राज्यका विभिन्न निकायमा कति प्रभाव पार्न सके भन्ने विषय अहिलेको मुख्य चासो बनेको छ । सापकोटाको वास्तविक भूमिका र उनीसँग जोडिएका सम्पर्कहरूको भित्री पाटो अनुसन्धानको निष्कर्षसँगै खुल्दै जानेछ ।
आखिर को हुन् इनम सापकोटा ?
पारिवारिक पृष्ठभूमिका हिसाबले सापकोटा बाबुआमाका एक्ला छोरा हुन्। २०५२ सालमा जन्मिएका ३१ वर्षीय इनम झापाको दमकमा हुर्किएका हुन् । उनी दमक नगरपालिका–५ का राम सापकोटाका एक्ला छोरा हुन् । उनका बुवा स्वास्थ्य सहायक (एचए) हुन् । विगतमा उनी लुथरन वर्ल्ड फेडरेसनको दमकस्थित कार्यालयमा कार्यरत रहेको बताइन्छ । परिवारको पुर्ख्यौली घर इलामको तत्कालीन फुँएतप्पा गाविस भए पनि बसाइँ सरेर पहिले गौरादहको चप्रामारी र त्यसपछि दमक पुगेको थियो ।

दमक–५ मा सामान्य घर बनाएर बसेको परिवारले पछि दमक–१३ मा अर्को पक्की घर निर्माण गरेको थियो । दुवै घर बिक्री गरेपछि परिवार काठमाडौं सरेको स्थानीय छिमेकीहरूको भनाइ छ । अहिले उनका बुवा बूढानीलकण्ठमा बस्ने र इनम भने काठमाडौंको पानीपोखरी हाइटस्थित छुट्टै अपार्टमेन्टमा श्रीमती कविता पाण्डे र छोरीसँग बस्ने गरेको सार्वजनिक विवरणमा उल्लेख छ । उनले आफ्नै कमाइबाट बूढानीलकण्ठमा घर बनाएर अभिभावकलाई राखेको दाबीसमेत गरिएको छ । इनमले प्रारम्भिक शिक्षा दमकको मदरल्यान्ड इङ्लिस बोर्डिङ स्कुलबाट सुरु गरेका थिए । त्यसपछि सूर्योदय इङ्लिस सेकेन्डरी स्कुलमा अध्ययन गरे । उच्च माध्यमिक तहको शिक्षा ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलबाट विज्ञान विषयमा पूरा गरेको बताइन्छ ।
उच्च शिक्षाका लागि भारत पुगेका उनले दिल्लीमा एमबीबीएस अध्ययन गर्न गएको चर्चा भए पनि आफन्तको भनाइअनुसार हरियाणामा पारामेडिकल विषय पढेका थिए । त्यसपछि जर्मनी पुगेका उनी जलवायु परिवर्तनसम्बन्धी विद्यावारिधि अध्ययन गर्ने योजनामा रहेको बताइन्छ । उक्त अध्ययन पूरा नगरी अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा भर्ना भएको विवरण सार्वजनिक भए पनि त्यहाँको अध्ययनको तह र अवस्थाबारे स्पष्ट जानकारी उपलब्ध छैन । उनी अमेरिकाको ग्रिनकार्डधारी रहेको पनि बताइएको छ ।



