नेपाली कांग्रेसको देउवा समूहको १५औँ जिल्ला अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
तौलिहवामा सम्पन्न अधिवेशनले सिंहलाई जिल्ला सभापतिमा निर्विरोध चयन गरेको हो । अधिवेशनबाट जिल्ला कार्यसमितिका अन्य पदाधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक ऐश्वर्यनारायण शुक्लाका अनुसार जिल्ला उपसभापतिमा खुर्सेद अकमद खाँ र दुर्गा केसी निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा मनोज पौडेल र मनोज कनौडिया तथा सहसचिवमा विजय खनाल र जमिल अहमद खाँ निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट खुलातर्फ १७ जना जिल्ला कार्यसमिति सदस्य पनि निर्विरोध चयन भएका छन् । त्यसैगरी, जिल्लाका ६ नगरपालिकाबाट तीन–तीन जना र चार गाउँपालिकाबाट दुई–दुई जनाका दरले जिल्ला कार्यसमिति सदस्य चयन गरिएको छ ।
यसरी स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी जिल्ला कार्यसमितिमा सदस्य चयन गरिएको हो । अधिवेशनले जिल्लामा पार्टीको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउन नयाँ नेतृत्व चयन गरेको छ ।
नवनिर्वाचित सभापति सिंहका अनुसार जिल्ला कार्यसमितिको बैठकबाट कोषाध्यक्ष चयन गरिनेछ । बाँकी सांगठनिक प्रक्रिया पूरा गर्दै जिल्ला कार्यसमितिलाई पूर्णता दिइने उनले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसको देउवा समूहले कपिलवस्तुमा आफ्नो १५औँ जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।


