सरकारले हिउँदको मौसमलाई मध्यनजर गर्दै आजदेखि सरकारी कार्यालयको दैनिक कार्यसमय एक घण्टा कटौती गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुला रहनेछन्।
सरकारले सार्वजनिक गरेको निर्णयअनुसार यो समयतालिका आगामी माघ १५ गतेसम्म लागू हुनेछ। जाडो मौसममा दिन छोटो हुने र साँझ चाँडै अँध्यारो पर्ने अवस्थालाई ध्यानमा राखेर कार्यालय सञ्चालन अवधि घटाइएको हो।
नेपाल राजपत्रमा प्रकाशित सूचनामा उल्लेख भएअनुसार नयाँ कार्यालय समय सातामा पाँच दिन लागू हुनेछ। यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ व्यवस्थाले कर्मचारीको दैनिक कार्यालय समय एक घण्टा कम गरेको छ।
यसैबीच, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थालाई पनि निरन्तरता दिएको छ। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।


