नेपालमा रेल सेवा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल रेल्वे बोर्डले नेपाली रेल चालक (लोकोपाइलट) हरूको सूची तयार गर्ने प्रक्रिया सुरु गरेको छ। यसका लागि बोर्डले योग्य तथा इच्छुक नेपाली नागरिकसँग आवेदन माग गरेको छ।
विशालनगरस्थित बोर्डको केन्द्रीय कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रेल सेवा सञ्चालनका लागि दक्ष, अनुभवी र जिम्मेवार चालक आवश्यक रहेको जनाएको छ। रेल सञ्चालनमा प्राविधिक दक्षता र सुरक्षालाई महत्वपूर्ण पक्षका रूपमा लिँदै योग्य जनशक्तिको विवरण संकलन गर्न लागिएको बोर्डको भनाइ छ।
सूचीकरण प्रक्रियामा सहभागी हुन चाहने नेपाली नागरिकले निर्धारित योग्यता पूरा गरेको प्रमाणसहित आवेदन दिनुपर्नेछ। आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र र मान्यता प्राप्त संस्थाबाट प्राप्त रेल चालकको लाइसेन्स अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, रेल सञ्चालनसम्बन्धी कार्यअनुभव भएका उम्मेदवारले अनुभव खुल्ने प्रमाणपत्र पनि संलग्न गर्नुपर्नेछ। सम्बन्धित क्षेत्रमा प्राप्त गरेको तालिमको प्रमाणपत्र भए त्यसलाई समेत आवेदनसँगै बुझाउनुपर्ने बोर्डले जनाएको छ।
बोर्डले इच्छुक तथा योग्यता पुगेका व्यक्तिलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन बुझाउन समय दिएको छ। आवेदन पेस गर्ने अन्तिम मिति आगामी २०८३ मंसिर २१ गते तोकिएको छ।
उम्मेदवारहरूले आवश्यक कागजातसहित काठमाडौंको विशालनगरमा रहेको नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा पुगेर दरखास्त पेस गर्नुपर्नेछ।



