नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा भाइटीकाका लागि आवश्यक पर्ने मसलाजन्य वस्तु तथा ड्राइफ्रुट्सको कारोबार बढ्न थालेको छ। दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर ओखर, काजु, बदाम, किसमिस, नरिवल, छोकडा र सुपारीसहितका सामग्री दिने परम्पराका कारण यी वस्तुको माग बढ्ने गरेको छ। तर, चाडपर्वमा खपत हुने अधिकांश सामग्रीका लागि नेपाल विदेशी बजारमा निर्भर रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिना अर्थात् साउनदेखि असोजसम्म नेपालले ३ अर्ब १ करोड ७० लाख ७४ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका ड्राइफ्रुट्स आयात गरेको छ। यस अवधिमा १ करोड ७१ लाख ५७ हजार किलोग्राम यस्ता वस्तु नेपाल भित्रिएका छन्। उक्त आयातबाट सरकारले १ अर्ब ३७ करोड ४३ लाख २७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ। आयातको ठूलो हिस्सा काजु, ओखर, नरिवल, बदाम र सुपारीले ओगटेका छन्। यी वस्तुको आयातले तिहारजस्ता सांस्कृतिक पर्वमा समेत विदेशी उत्पादनको उपभोग उल्लेख्य रहेको देखाउँछ।
काजु आयातमा ४६ करोडभन्दा बढी खर्च
भाइटीकामा प्रयोग हुने लोकप्रिय सामग्रीमध्ये काजुको आयात पनि उल्लेख्य छ। तीन महिनाको अवधिमा नेपालले ४६ करोड ५७ लाख रुपैयाँ बराबरको ४ लाख ६९ हजार किलोग्राम काजु आयात गरेको छ। काजु आयातको सबैभन्दा ठूलो हिस्सा भारतबाट आएको छ। भारतबाट मात्रै २५ करोड २८ लाख रुपैयाँ बराबरको २ लाख ४७ हजार किलोग्राम काजु भित्रिएको छ। यसबाहेक कुवेत, कतार र साउदी अरेबियाबाट पनि काजु आयात भएको छ।
त्यस्तै, भारत, कतार, संयुक्त अरब इमिरेट्स र बेलायतबाट ३० लाख १ हजार रुपैयाँ बराबरको १ हजार ९५७ किलोग्राम पिस्ता आयात गरिएको छ। खजुर र अन्य नट्सको आयातमा पनि नेपालले लाखौँ रुपैयाँ खर्च गरेको छ।
ओखरमा ६५ करोडभन्दा बढीको कारोबार
भाइटीकाको टीका र उपहारमा प्रयोग हुने ओखरको आयात पनि ठूलो परिमाणमा भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार किलोग्राम ओखर आयात गरेको छ। ओखर आयातबाट सरकारले १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागका अनुसार नेपालमा चीन, भारत, जापान, कुवेत, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट ओखर आउने गरेको छ। यस अवधिमा चीनबाट मात्रै ३८ करोड ९५ लाख रुपैयाँ बराबरको ९ लाख ७१ हजार किलोग्राम ओखर आयात भएको छ। अन्य मुलुकबाट पनि विभिन्न परिमाणमा ओखर भित्रिएको तथ्यांकमा उल्लेख छ।
नरिवलमा ५६ करोडभन्दा बढी रकम विदेशियो
तिहारमा पूजा तथा भाइटीकाका लागि प्रयोग हुने नरिवलको आयातमा पनि ठूलो रकम बाहिरिएको छ। तीन महिनामा ५६ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६ हजार किलोग्राम नरिवल नेपाल भित्रिएको छ। यसको प्रमुख आपूर्तिकर्ता भारत हो। भारतबाट मात्रै ५४ करोड ७४ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ५ हजार किलोग्राम नरिवल आयात गरिएको छ। भियतनामबाट १ करोड ८५ लाख रुपैयाँ बराबरको नरिवल आएको छ भने कतारबाट पनि सामान्य परिमाणमा आयात भएको छ।
बदाम र सुपारीको आयात पनि उच्च
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको ५ लाख ९ हजार ७८ किलोग्राम बदाम आयात गरेको छ। यसमध्ये अमेरिकाबाट मात्रै ४७ करोड ४२ लाख रुपैयाँ बराबरको बदाम भित्रिएको छ। भारत, चीन, कतार र हङकङबाट पनि बदाम आयात गरिएको छ । यस्तै, सुपारीको आयातमा सबैभन्दा बढी रकम खर्च भएको देखिन्छ। तीन महिनामा नेपालले ८४ करोड ७७ लाख ७ हजार रुपैयाँ बराबरको ३२ लाख ४० हजार किलोग्राम सुपारी आयात गरेको छ। इन्डोनेसिया र थाइल्यान्ड सुपारीका प्रमुख आपूर्तिकर्ता रहेका छन्।



