Banijya News

एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, काठमाडौं–कर्णाली र सुदूरपश्चिम–चितवन आमनेसामने

1
1.0K Shares

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाज, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुन लागेको हो। आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सको सामना गर्नेछ। दुई टोलीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउन दुवै टोलीका लागि यो खेल महत्वपूर्ण हुनेछ।

त्यस्तै, आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्। यी दुई टोलीबीचको प्रतिस्पर्धा साँझ ५ बजे सुरु हुने तालिका छ। दोस्रो खेलले प्रतियोगिताको अंकतालिकामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा चितवन

आजको दोस्रो खेलमा सबैको ध्यान चितवन राइनोजमाथि रहनेछ। चितवनले प्रतियोगितामा अहिलेसम्म हार बेहोरेको छैन। टोलीले पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। दोस्रो खेल भने वर्षाका कारण पूरा हुन सकेन। खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए। त्यसैले चितवन आफ्नो अपराजित यात्रा कायम राख्दै थप अंक जोड्ने योजनामा मैदान उत्रिनेछ।

अर्कोतर्फ सुदूरपश्चिम रोयल्सका लागि आजको खेल अंकतालिकामा सुधार गर्ने अवसर हुनेछ। टोलीले हालसम्म खेलेका तीन खेलमध्ये एकमा जित हासिल गरेको छ भने दुई खेलमा पराजय भोगेको छ। यस अवस्थामा सुदूरपश्चिमलाई प्रतियोगितामा आफ्नो लय सुधार्न जित आवश्यक देखिन्छ। चितवनविरुद्धको खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा प्रभावकारी प्रदर्शन गर्नुपर्ने चुनौती टोलीसामु रहनेछ।

आजका दुवै खेलले प्रतियोगिताको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। विशेषगरी अपराजित चितवनलाई रोक्ने सुदूरपश्चिमको प्रयास र पहिलो खेलमा काठमाडौं तथा कर्णालीबीच हुने भिडन्तले क्रिकेट समर्थकको ध्यान तान्नेछ।

1

Scroll to Top