सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्राकृतिक विपद्का बेला दूरसञ्चार सेवा अवरुद्ध हुन नदिन नेपाल टेलिकमलाई आवश्यक तयारीसहित चुस्त अवस्थामा राख्नुपर्ने बताएका छन्। उनले विपद्को समयमा सञ्चार सेवाको उपलब्धता नागरिकको जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले टेलिकमले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण अवरुद्ध दूरसञ्चार सेवा छिटो पुनःस्थापना गर्न योगदान पुर्याउने नेपाल टेलिकमका कर्मचारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन्।
विपद्का बेला केही सेकेण्डअघि सूचना पाउँदा पनि मानिसको ज्यान जोगिन सक्ने उल्लेख गर्दै उनले सञ्चार सेवाको महत्त्वलाई सामान्य रूपमा लिन नहुने बताए। उनका अनुसार विपद्को पूर्वसूचना र तत्काल सूचना आदानप्रदान गर्न सक्ने व्यवस्था भएमा मानवीय क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा छिटो सञ्चालन गर्न विभिन्न निकायबीच भएको सहकार्य र समन्वयले महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए। विशेषगरी नेपाल टेलिकमका कर्मचारीले आफ्नो जिम्मेवारीभन्दा बढी समय र मेहनत खर्चेर सेवा पुनःस्थापनामा काम गरेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले ऊर्जा मन्त्रालयले पनि युद्धस्तरमा काम गरेर क्षतिग्रस्त ऊर्जा संरचना पुनःनिर्माण गरेकाले दूरसञ्चार सेवा सञ्चालन गर्न सहज भएको उल्लेख गरे। विपद्का समयमा कुनै एउटा संस्थाको प्रयासले मात्र सेवा पुनःस्थापना सम्भव नहुने भन्दै सबै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।
नागरिकले नेपाल टेलिकमबाट ठूलो अपेक्षा राख्ने गरेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले निजी दूरसञ्चार कम्पनीले जस्तै छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने क्षमता विकास गर्नुपर्ने बताए। सेवाग्राहीसँग कर्मचारीले गर्ने व्यवहार र बोल्ने शब्दले समेत संस्थाको प्रतिष्ठामा प्रभाव पार्ने भएकाले जिम्मेवार र सेवामुखी व्यवहार अपनाउन उनले निर्देशन दिए।
प्रविधिमा तीव्र परिवर्तन भइरहेको वर्तमान समयमा नेपाल टेलिकममा पनि सकारात्मक रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बलियो, सबल र नागरिकमैत्री टेलिकम निर्माण गर्न संस्थागत सुशासन, व्यवस्थापकीय सुधार र सेवा विस्तारमा ध्यान दिनुपर्ने उनले बताए।
टेलिकमलाई नागरिकको हितमा काम गर्ने विश्वसनीय संस्थाका रूपमा विकास गर्न कर्मचारी तथा व्यवस्थापन दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए। संस्थाको सुशासन र सबलीकरणमा सुधार गर्दै आगामी दिनमा अझ धेरै कर्मचारीलाई उत्कृष्ट कामका लागि सम्मान गर्न सकिने वातावरण निर्माण हुने विश्वाससमेत उनले व्यक्त गरे।
कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले सामान्यतया प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिँदै आएको जानकारी दिइन्। तर यसपटक भोटेकोशी बाढीपछि अवरुद्ध सेवा छिटो सञ्चालन गर्न विशेष योगदान पुर्याउने कर्मचारीलाई प्राथमिकताका साथ सम्मान गरिएको उनले बताइन्।
मन्त्रालयका सचिव तथा टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेलिकम वायरलेस निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारी र सम्मानित कर्मचारीमध्येका इन्जिनियर निशान्त नेपाललगायतले बाढीपछि सेवा पुनःस्थापनाका क्रममा भोगेका अनुभव सुनाएका थिए।



