नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा साइबर सुरक्षालाई मजबुत बनाउँदै सूचना प्रविधि प्रणालीलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नयाँ सूचना प्रविधि (आईटी) नीति लागू गरेको छ। सेयर बजारको कारोबार, राफसाफ तथा फस्र्यौट प्रणाली र तथ्याङ्क सुरक्षामा देखिन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बोर्डले बुधबारदेखि नीति कार्यान्वयनमा ल्याएको हो।
यसअघि डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएपछि असोज ५ गते सेयर बजारको कारोबार नै बन्द गर्नुपरेको थियो। उक्त घटनाले नेपालको पुँजी बजारको सूचना प्रविधि पूर्वाधारमा रहेको जोखिम उजागर गरेको थियो। साइबर आक्रमणका कारण बजार सञ्चालनमै अवरोध आउन सक्ने अवस्था देखिएपछि बोर्डले सूचना प्रविधि सुरक्षा र प्रणालीको विश्वसनीयता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै नयाँ नीति लागू गरेको हो।
नयाँ नीतिमा सेयर बजारसँग सम्बन्धित निकायको सूचना प्रविधि सुरक्षा, डिजिटल पूर्वाधारको व्यवस्थापन, साइबर जोखिम नियन्त्रण तथा उदीयमान प्रविधिको प्रयोगलाई समेटिएको छ। बजार कारोबार, राफसाफ तथा फस्र्यौट संयन्त्र, केन्द्रीय निक्षेप प्रणाली र वेयरहाउससँग सम्बन्धित अभिलेखको सुरक्षित तथा दिगो प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय अभ्यासअनुसारको विपद् पुनःप्राप्ति संयन्त्र स्थापना र व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार नीतिको मुख्य उद्देश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधि पूर्वाधारको विकास र विस्तारमार्फत नतिजामुखी, प्रभावकारी, मापनयोग्य तथा जवाफदेही बनाउनु हो।
नीतिले बोर्ड, बजार पूर्वाधार संस्था तथा बजार सहभागीहरूले प्रयोग गर्ने डिजिटल पूर्वाधारलाई सुरक्षित र विश्वसनीय बनाउन सूचना प्रविधिसम्बन्धी बाह्य सेवा (आईटी आउटसोर्सिङ) लाई स्पष्ट कानुनी तथा प्राविधिक दायराभित्र ल्याउने व्यवस्था गरेको छ। बाह्य सेवा प्रदायकसँग गरिने सम्झौतामा सेवा स्तर सम्झौता (एसएलए), तथ्याङ्क सुरक्षा, गोपनीयता, दायित्व, लेखापरीक्षण तथा निरीक्षणको अधिकार र सेवा अन्त्य गर्दा अपनाउनुपर्ने बहिर्गमन रणनीति अनिवार्य गरिने प्रस्ताव गरिएको छ।
त्यस्तै, बोर्डबाट अनुमतिपत्र प्राप्त बजार, व्यवसायी, संस्था तथा कोषले प्रयोग गर्दै आएका सूचना प्रविधि प्रणालीलाई एकरूपता दिन न्यूनतम आईटी मापदण्ड निर्धारण गरिनेछ। उक्त मापदण्डको अनिवार्य पालना गराउने व्यवस्था पनि नीतिमा समेटिएको छ।
पुँजी बजारमा प्रयोग हुने सूचना प्रविधि प्रणालीको सुरक्षा अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्था लागू गरिने भएको छ। यसअन्तर्गत सम्बन्धित संस्थाले आईएसओ तथा आईईसी २७००१ प्रमाणीकरण लिनुपर्ने, प्रत्येक वर्ष सूचना प्रविधि प्रणालीको सुरक्षा कमजोरी पहिचान तथा प्रवेश परीक्षण (भल्नरेबिलिटी असेसमेन्ट एन्ड पेनिट्रेसन टेस्टिङ) गर्नुपर्ने र नियमित प्रणाली लेखापरीक्षण (सिस्टम अडिट) गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
साइबर सुरक्षासम्बन्धी घटनाको प्रभावकारी अनुगमन र नियन्त्रणका लागि एकीकृत साइबर घटना प्रतिवेदन पोर्टल स्थापना गर्ने योजना पनि नीतिमा छ। यस पोर्टलमार्फत बजारसँग सम्बन्धित विभिन्न संस्थामा हुने साइबर आक्रमण तथा सुरक्षा घटनाको विवरण अनिवार्य रूपमा प्रतिवेदन गर्नुपर्नेछ। साइबर घटना हुनासाथ सम्बन्धित निकायलाई जानकारी गराउने, जोखिम नियन्त्रण गर्ने, प्रभावित प्रणाली पुनः सञ्चालन गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुधारका उपाय अपनाउने व्यवस्था गरिनेछ।
यसैगरी, बजारका महत्वपूर्ण पूर्वाधार तथा व्यवसायीले व्यवसाय निरन्तरता योजना (बीसीपी) र विपद् पुनरुत्थान योजना (डीआरपी) तयार गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले साइबर आक्रमण, प्राविधिक समस्या वा अन्य विपद्का कारण कारोबार अवरुद्ध भए पनि बजारलाई छिटो सञ्चालनमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धितोपत्र बजारको महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको तथ्याङ्क केन्द्रलाई थप व्यवस्थित बनाउन बजार पूर्वाधार संस्था तथा बजार सहभागी संस्थाको सहभागितामा साझा तथ्याङ्क केन्द्र (सेयर्ड डेटा सेन्टर) स्थापना गर्ने दिशामा पनि बोर्ड अघि बढ्ने भएको छ। यसले तथ्याङ्कको सुरक्षा, भण्डारण र पुनःप्राप्ति प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नीतिमा सूचना प्रविधिको प्रयोगबाट संस्थागत कार्यसम्पादनमा रूपान्तरण गर्दै ई–सेबोनको अवधारणा विकास गर्ने विषयसमेत समेटिएको छ। बोर्डमा उपलब्ध सूचना प्रविधिसम्बन्धी साधनस्रोतको दक्ष व्यवस्थापन तथा प्रयोगमा जोड दिइएको छ।
त्यसैगरी, सूचना प्रविधिसम्बन्धी जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम, अध्ययन तथा भ्रमणको व्यवस्था गरिनेछ। कृत्रिम बौद्धिकता (एआई), नियामकीय प्रविधि (रेगटेक), सुपरिवेक्षकीय प्रविधि (सुपटेक), विद्युतीय सुशासन र साइबर सुरक्षालाई प्राथमिकतामा राखिएको छ।


