नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्दा दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन्।
आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। प्रतियोगितामा राम्रो लयमा देखिएको लुम्बिनी लगातार आफ्नो प्रभाव कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ। यता जनकपुर भने जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा हुनेछ।
लुम्बिनी लायन्सले अहिलेसम्म खेलेका तीन खेलमध्ये दुईमा जित हात पारेको छ भने एक खेलमा अंक बाँडेको छ। पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर आफ्नो अग्रता थप मजबुत बनाउन चाहन्छ। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको लुम्बिनीका लागि यो चौथो खेल हुनेछ।
अर्कोतर्फ जनकपुर बोल्ट्सले चार खेलबाट दुई जित र दुई हार बेहोर्दै चार अंक जोडेको छ। तालिकाको चौथो स्थानमा रहेको जनकपुरलाई आजको खेल जित्दै तेस्रो जित निकाल्ने अवसर छ। समान चार अंक भएका कर्णाली र विराटनगर रनरेटका आधारमा जनकपुरभन्दा अगाडि छन्। त्यसैले जनकपुरका लागि आजको खेल अंकतालिकामा माथि उक्लने महत्त्वपूर्ण अवसरसमेत हुनेछ।
लुम्बिनीले आफ्नो अपराजित यात्रा कायम राख्न चाहँदा जनकपुर भने बलियो प्रतिस्पर्धा प्रस्तुत गर्दै जितको लय समात्ने प्रयासमा हुनेछ। दुवै टोलीका लागि आजको खेल प्रतियोगिताको आगामी यात्राका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
यसैगरी, आजको दोस्रो खेल साँझ ५ बजे काठमाडौँ गोर्खाज र विराटनगर किंग्सबीच हुनेछ। दुवै टोली फरक लक्ष्यका साथ मैदान उत्रनेछन्। दुई खेल खेलेको काठमाडौँले एकमा जित र अर्कोमा हार बेहोरेको छ। दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौँलाई आजको खेल जित्दै आफ्नो स्थिति सुधार गर्ने दबाब छ।
काठमाडौँका लागि घरेलु मैदानमा हुने यो प्रतिस्पर्धा अंक जोड्ने मात्र नभई प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने अवसर पनि हुनेछ। दोस्रो जितको खोजीमा रहेको काठमाडौँले विराटनगरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।
उता सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले चार खेलबाट दुई जित निकाल्दै चार अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर आजको खेल जितेर तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ।
विराटनगरले जित निकाल्न सके शीर्ष स्थानको दौडमा आफ्नो दाबेदारी थप बलियो बनाउन सक्छ। त्यसैले काठमाडौँविरुद्ध विराटनगर पनि जितकै लक्ष्यसहित मैदान उत्रनेछ।
आजका दुवै खेलले एनपीएलको अंकतालिकामा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले समर्थकको चासो बढेको छ। विशेषगरी शीर्ष स्थानमा रहेको लुम्बिनीको अपराजित यात्रा र विराटनगरको जितको लय कायम रहन्छ वा रहँदैन भन्ने विषय आजका खेलका आकर्षण हुनेछन्।


