Banijya News

राजनीतिक नेतृत्वको टोलीसँग मात्रै वार्ता गर्ने डा. केसीको अडान, सरकारी टोली फर्कियो

1
1.0K Shares

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सरकारद्वारा वार्ताका लागि पठाइएको टोलीसँग छलफल गर्न अस्वीकार गरेका छन्। बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई आफ्ना पूर्वसर्त र अडान सुनाउँदै उनले फिर्ता पठाएका हुन्।

डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको टोलीसँग मात्रै वार्ता गर्ने स्पष्ट पारेका छन्। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको अवस्थामा सचिवस्तरको टोलीसँग वार्ता गर्नुको औचित्य नरहेको उनको भनाइ छ।

उनका अनुसार २०८३ साउन ११ गते सरकारसँग भएको सहमतिमा दुई जना सचिवले हस्ताक्षर गरेका थिए। तर उक्त सहमतिलाई राजनीतिक नेतृत्वले अपनत्व नलिएको र कार्यान्वयन प्रक्रिया अघि नबढाएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

यसअघि भएका सहमति तथा अब हुने नयाँ सहमति कार्यान्वयन गर्ने अधिकारसमेत राजनीतिक नेतृत्वसँग रहेकाले त्यही तहबाट वार्ता टोली गठन हुनुपर्ने उनको माग छ। सहमति गर्ने तर कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिका कारण आफूले पुनः वार्ताका लागि विश्वास गर्न नसकेको उनको अडान छ।

डा. केसीले नयाँ वार्तामा बस्नुअघि आफ्नो अघिल्लो सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने अर्को सर्तसमेत अघि सारेका छन्। पुराना प्रतिबद्धता पूरा नगरी नयाँ सहमति गर्नुको अर्थ नहुने उनको भनाइ छ।

सरकारले पठाएको टोलीलाई आफ्नो माग र सर्तबारे स्पष्ट जानकारी गराउँदै उनले अघिल्लो सहमति कार्यान्वयन नभएसम्म नयाँ वार्ता अघि बढाउन नसकिने बताएका छन्।

डा. केसीले वार्ताका लागि राजनीतिक नेतृत्वको प्रत्यक्ष संलग्नता र विगतका सहमति कार्यान्वयनको सुनिश्चितता खोजेपछि सरकारी पक्षसँगको संवाद तत्काल अघि बढ्न सकेन। उनको अडानपछि सरकारले अब राजनीतिक तहबाट कसरी पहल गर्छ भन्ने विषयले महत्त्व पाएको छ।

1

Scroll to Top