Banijya News

भारतीय विदेश सचिवले प्रधानमन्त्री बालेनलाई भेट्दै, भ्रमणका एजेन्डामा छलफल हुने

1
1.0K Shares

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज (बिहीबार) प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले प्रधानमन्त्रीसँगको भेटमा प्रस्तावित भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिरको पहिलो साता हुने तयारी भइरहेका बेला भारतीय विदेश सचिवको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीसँगको भेटपछि मिस्री आजै अपराह्न नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।

नेपाल बसाइका क्रममा मिस्रीले बुधबार सरकारका विभिन्न मन्त्री तथा उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा, पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो।

बुधबार नै परराष्ट्र सचिव राई र मिस्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। उक्त वार्तामा विशेषगरी प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी र भ्रमणका क्रममा उठाउन सकिने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई देशबीच हवाई, रेल, सडक तथा पुलमार्फत सम्पर्क सञ्जाल विस्तार, व्यापार प्रवद्र्धन तथा सहजीकरण, विकास सहकार्यलाई प्रभावकारी बनाउने र ऊर्जा क्षेत्रमा विद्यमान साझेदारी विस्तार गर्ने विषय वार्ताका प्राथमिकतामा थिए। त्यसैगरी दुई देशका नागरिकबीचको सम्बन्ध र आपसी सम्पर्कलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो।

मिस्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि भेट गरेका थिए।

अर्थमन्त्री वाग्लेसँगको भेटमा दुई देशबीचको आर्थिक साझेदारी विस्तार, व्यापार तथा लगानीका सम्भावना र विकास आयोजनामा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो। ऊर्जामन्त्री श्रेष्ठसँगको छलफलमा विद्युत् व्यापार, जलस्रोतको उपयोग तथा ऊर्जा क्षेत्रमा संयुक्त लगानीका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।

त्यस्तै, पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा सडक, रेल तथा अन्य भौतिक पूर्वाधार निर्माण र दुई देशबीचको कनेक्टिभिटी विस्तारका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणलाई लक्षित गरेर मिस्रीको नेपाल भ्रमण केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा हुन सक्ने उच्चस्तरीय छलफलका विषय र सम्भावित उपलब्धिबारे विभिन्न मन्त्रालयसँग परामर्श गरिएको हो।

परराष्ट्र सचिवस्तरीय वार्तामा एजेन्डाका विषयमा प्रारम्भिक समझदारी बने पनि अन्तिम कार्यसूची भने तय हुन बाँकी छ। आज प्रधानमन्त्रीसँग हुने भेटले भ्रमणको तयारीलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top