नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज (बिहीबार) देखि सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री सुरु गर्ने भएको छ। तिहारमा सुन तथा चाँदीका धातु खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्ने धार्मिक परम्परालाई ध्यानमा राखेर राष्ट्र बैंकले सर्वसाधारणका लागि सिक्का बिक्री खुला गर्न लागेको हो।
राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन र चाँदीका सिक्का खरिद गर्न सकिनेछ। सिक्का बिक्री आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिएका छन्।
यस वर्ष राष्ट्र बैंकले सुनको असर्फीसँगै विभिन्न आकृतिका चाँदीका सिक्का पनि बिक्री गर्ने तयारी गरेको छ। चाँदीतर्फ लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अंकित सिक्का उपलब्ध हुनेछन्।
राष्ट्र बैंकका अनुसार यस वर्ष वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी त्यसबाट असर्फी तयार गरिएको छ। गत वर्ष सुन अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरिएको थियो। यसपटक भने सुनको समेत व्यवस्था गरिएकाले सर्वसाधारणले असर्फी खरिद गर्न पाउने भएका छन्।
राष्ट्र बैंकका कार्यकारी निर्देशक दाहालका अनुसार एक जना व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी खरिद गर्न सक्नेछन्। त्यसैगरी, १० ग्राम तौलका बढीमा तीनवटासम्म चाँदीका सिक्का खरिद गर्न पाइने व्यवस्था गरिएको छ।
सुनको असर्फी तथा चाँदीका सिक्काको मूल्य बिक्री हुने दिनको बजार मूल्यका आधारमा निर्धारण गरिनेछ। तर सिक्का निर्माण तथा उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सर्वसाधारणले बजारमा प्रचलित सुनचाँदीको मूल्यभन्दा केही बढी रकम तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
सिक्का खरिद गर्न इच्छुक व्यक्तिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित टक्सार महाशाखामा स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
सिक्का खरिद गरेबापतको रकम नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।



