Banijya News

सरकारको बेरुजु १० अर्ब ६८ करोड पुग्यो, भौतिक पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

1
1.0K Shares

संघीय सरकारको एक वर्षको अवधिमा १० अर्ब ६८ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदनले सरकारी खर्चमा वित्तीय अनुशासनको चुनौती कायमै रहेको देखाएको हो। प्रतिवेदनअनुसार गत आर्थिक वर्ष संघीय सरकारको कुल बेरुजु १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो बेरुजु ९ अर्ब २४ करोड रुपैयाँ रहेको थियो। यसरी एक वर्षमै बेरुजु रकम १ अर्ब ४४ करोड १५ लाख रुपैयाँले बढेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी कारोबारको लेखा परीक्षण र आन्तरिक नियन्त्रण प्रणाली विगतको तुलनामा सुधार तथा प्रभावकारी बन्दै गए पनि बेरुजु रकम बढ्नुमा बजेटको आकार विस्तार हुनु पनि एउटा कारण हो। यसबाहेक गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय, सवारीसाधन, कागजात तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिले पनि लेखा परीक्षणमा समस्या सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ।

कर्मचारीबाट हुने नियमित त्रुटि, प्रक्रियागत कमजोरी र असावधानीलाई पनि बेरुजु बढ्नुका कारणका रूपमा औँल्याइएको छ। आन्दोलनका क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित विभिन्न जिल्लास्थित सरकारी निकायका भवन, लेखा अभिलेख र स्रेस्ता आगजनीबाट नष्ट भएका थिए। यस्तो प्रतिकूल अवस्थाका बाबजुद आन्तरिक लेखा परीक्षण सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

पाँच अर्बभन्दा बढी म्याद नाघेको पेस्की

प्रतिवेदनअनुसार गत आर्थिक वर्षको लेखा परीक्षणबाट असुल उपर गर्नुपर्ने बेरुजु ३ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ देखिएको छ। त्यस्तै, नियमित गर्नुपर्ने बेरुजु १ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ र म्याद नाघेको पेस्की रकम ५ अर्ब २७ करोड रुपैयाँ रहेको छ। यसले सरकारी निकायमा खर्चको प्रमाण, प्रक्रिया र पेस्की फर्छ्योटसम्बन्धी समस्या अझै कायम रहेको देखाउँछ। कानुनअनुसार आवश्यक प्रक्रिया पूरा नगरी आर्थिक कारोबार गर्नु, लेखा अभिलेख नराख्नु वा अनियमित रूपमा खर्च गर्नु बेरुजुमा पर्ने गर्छ।

आन्तरिक लेखा परीक्षणबाट देखिएको बेरुजुको अवस्था हेर्दा पछिल्ला चार वर्षमा उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा ३० अर्ब ४ करोड रुपैयाँ बेरुजु रहेकोमा २०८०/८१ मा घटेर १४ अर्ब ७९ करोड पुगेको थियो। त्यसपछि २०८१/८२ मा ९ अर्ब २४ करोडमा झरेको बेरुजु गत आर्थिक वर्ष फेरि बढेर १० अर्ब ६८ करोड पुगेको हो।

पूँजीगत खर्चमा सबैभन्दा बढी बेरुजु

गत आर्थिक वर्ष चालु, पूँजीगत तथा वित्तीय व्यवस्थातर्फको खर्च परीक्षण गर्दा पूँजीगत खर्चमा सबैभन्दा धेरै बेरुजु देखिएको छ। सरकारले चालु खर्चतर्फ ११ खर्ब ६८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेकोमा १० खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको थियो। यसबाट ९६ करोड ९३ लाख रुपैयाँ बेरुजु कायम भएको छ।

त्यस्तै, पूँजीगत खर्चतर्फ ४ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा १ खर्ब ९१ अर्ब ८९ करोड रुपैयाँ मात्रै खर्च भएको थियो। उक्त खर्चको परीक्षणबाट ५ अर्ब ७८ करोड रुपैयाँ बेरुजु देखिएको छ। वित्तीय व्यवस्थातर्फ भने बेरुजु शून्य रहेको प्रतिवेदनमा उल्लेख छ। यस शीर्षकको ठूलो हिस्सा ऋण सेवामा खर्च हुने गरेको छ। सरकारले पूँजीगत खर्च बढाउने, चालु खर्च नियन्त्रण गर्ने तथा वित्तीय अनुशासन कायम गर्ने नीति लिएको भए पनि विकास बजेटको न्यून खर्च र त्यसमा देखिएको उच्च बेरुजुले कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ। महालेखा नियन्त्रक कार्यालयले विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पूँजीगत खर्च वृद्धि गर्न सुझाव दिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयमा चार अर्बभन्दा बढी बेरुजु

मन्त्रालयगत विवरणमा सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ। उक्त मन्त्रालयको बेरुजु ४ अर्ब १९ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३ अर्ब २३ करोड रुपैयाँ बेरुजु रहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा १ अर्ब ३२ करोड, सहरी विकास मन्त्रालयमा ७८ करोड र रक्षा मन्त्रालयमा ३१ करोड ९६ लाख रुपैयाँ बेरुजु देखिएको छ। विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयहरूमा बढी बेरुजु देखिनुले आयोजना कार्यान्वयन, भुक्तानी प्रक्रिया र वित्तीय व्यवस्थापनमा सुधार आवश्यक रहेको संकेत गरेको छ।

३ हजार ९८५ कार्यालयको लेखा परीक्षण

महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष संघीय कार्यालय तथा अन्तरसरकारी अख्तियारीअन्तर्गत सञ्चालित कार्यक्रमसहित कुल ३ हजार ९८५ कार्यालयको आन्तरिक लेखा परीक्षण गरेको थियो। यसमा सातवटै प्रदेश र ७५३ स्थानीय तहमा संघीय सरकारबाट प्रदान गरिएको रकमबाट सञ्चालित कार्यक्रमको लेखा परीक्षण नतिजा पनि समेटिएको छ। तर प्रदेश तथा स्थानीय तहको आफ्नै हिसाब भने यसमा समावेश छैन। बोर्ड, समिति र संस्थाहरूको लेखा परीक्षण पनि प्रतिवेदनमा समेटिएको छैन। विदेशस्थित नेपाली नियोगको आवश्यक कानुनी प्रक्रिया पूरा नभएकाले लेखा परीक्षण हुन नसकेको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। त्यसमध्ये १५ खर्ब ६१ अर्ब ३९ करोड रुपैयाँ निकासा तथा खर्च भएको थियो। कुल विनियोजित बजेटको परीक्षणबाट ६ अर्ब ७५ करोड रुपैयाँ बेरुजु देखिएको छ। यो कुल निकासा तथा खर्चको करिब ०.४३ प्रतिशत हो। गैरकर राजस्वतर्फको लेखा परीक्षणबाट थप ७६ करोड ७७ लाख रुपैयाँ बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ।

1

Scroll to Top