Banijya News

के गगन थापा पक्राउ पर्देछन् ? कांग्रेसको पदाधिकारी बैठक आह्वान किन ?

1
1.0K Shares

नेपाली कांग्रेसले सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच पार्टीको पदाधिकारी बैठक बोलाएको छ। कांग्रेसले आज दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक आह्वान गरेको हो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका पछिल्ला गतिविधि तथा पार्टीविरुद्ध फैलाइएको भनिएको भ्रमबारे छलफल हुने जनाइएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाका अनुसार सभापति थापा पक्राउ पर्ने विषयलाई लिएर विभिन्न किसिमका हल्ला फैलाइएपछि पार्टीले पदाधिकारी बैठक बोलाएको हो। उनले सभापति थापा पक्राउ पर्ने कुनै आधार नरहेको दाबी गर्दै सरकारले कांग्रेसको आवाज कमजोर पार्ने उद्देश्यले पक्राउको अफवाह फैलाएको आरोप लगाए।

खतिवडाले सभापति पक्राउ पर्ने भन्ने चर्चालाई निराधार भन्दै पार्टीले यस विषयलाई गम्भीर रूपमा लिएको बताए। उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारका विवादित निर्णय तथा समसामयिक विषयमा छलफल हुनेछ।

‘सभापति पक्राउको आधार छैन। कांग्रेसको आवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने।

उनले सरकारले चालेका विवादित कदमबारे नेपाली कांग्रेसले यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेको पनि जानकारी दिए। खतिवडाका अनुसार कांग्रेसले हिजो नै सरकारका विवादित कदमलाई लिएर ६ बुँदे धारणा सार्वजनिक गरेको थियो।

पार्टीले सार्वजनिक गरेको उक्त धारणामार्फत सरकारका पछिल्ला गतिविधिप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेको कांग्रेस नेताहरूको भनाइ छ। अहिले सभापति थापालाई पक्राउ गर्ने चर्चा सार्वजनिक भएपछि पार्टीभित्र थप राजनीतिक छलफल र रणनीति निर्माणको आवश्यकता देखिएको छ।

यसैबीच, नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि सरकारले फैलाइरहेको भनिएको हल्ला र भ्रमप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

उनले सरकारको डर र भ्रमका कारण आफूहरू विचलित नहुने स्पष्ट पार्दै प्रहरी लगाएर आफूलाई खोज्नुपर्ने अवस्था नरहेको बताएका छन्। आफू काठमाडौं आउँदै गरेको उल्लेख गर्दै उनले सरकारलाई चुनौतीपूर्ण सन्देशसमेत दिएका छन्।

‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,’ शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।

शिवाकोटीको उक्त अभिव्यक्तिले पनि कांग्रेसभित्र सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि बढिरहेको संकेत गरेको छ। सभापति थापा पक्राउ पर्ने चर्चालाई लिएर पार्टीका नेताहरूले सार्वजनिक रूपमा प्रतिक्रिया दिन थालेपछि राजनीतिक वृत्तमा यस विषयले थप चर्चा पाएको छ।

1

Scroll to Top