Banijya News

मस्कको करोडौँ डलर खर्चले पनि रिपब्लिकनलाई जिताउन असफल, अर्बपतिहरुलाई ऐतिहासिक धक्का

1
1.0K Shares

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय बेहोरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीले आफ्नो पकड रहेका महत्वपूर्ण राज्यमा समेत हार व्यहोरेपछि अमेरिकी संसद् कंग्रेसको नियन्त्रण डेमोक्रेटिक पार्टीको हातमा पुगेको छ। यस परिणामले ट्रम्प प्रशासनलाई ठूलो राजनीतिक धक्का दिएको छ भने अर्बपति उद्योगपति एलन मस्कको राजनीतिक प्रभावमाथि पनि प्रश्न उठाएको छ।

निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको सबैभन्दा चर्चित घटनामध्ये टेक्सासको सिनेट निर्वाचन बनेको छ। त्यहाँ डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोले प्रभावशाली जित हासिल गरेका छन्। रिपब्लिकन पार्टीको बलियो पकड मानिने टेक्सासमा सन् १९८८ यता पहिलोपटक उक्त सिनेट सिट डेमोक्रेटिक पार्टीको हातमा पुगेको हो। यो जितले अर्बपति एलन मस्कलाई समेत धक्का दिएको छ। फाइनान्सियल टाइम्सका अनुसार मस्कको राजनीतिक अभियान समिति (प्याक) ले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको चुनावी अभियानमा ४ करोड ७० लाख अमेरिकी डलर खर्च गरेको थियो। यसअघि उनले सेप्टेम्बरमा सिनेट लिडरसिप फन्डलाई १५ करोड ८० लाख अमेरिकी डलर सहयोग गरेका थिए।

यति ठूलो आर्थिक सहयोग र चुनावी अभियानमा गरिएको लगानीका बाबजुद रिपब्लिकन उम्मेदवार पराजित भएका हुन्। विजयी भएपछि आयोजित सम्बोधनमा टालारिकोले आर्थिक शक्तिभन्दा जनताको मत बलियो हुने सन्देश दिएका थिए। उनले भने, ‘हामीले संसारको सबै पैसा पनि टेक्सासका जनताभन्दा शक्तिशाली हुन सक्दैन भन्ने प्रमाणित गरेका छौँ।’

रिपब्लिकनको गढमा डेमोक्रेटको सफलता

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले टेक्साससहित ओहायो, कन्सास र नर्थ क्यारोलाइनाजस्ता महत्वपूर्ण राज्यमा सफलता हासिल गरेको छ। दशकौँदेखि रिपब्लिकनको प्रभाव रहेको क्षेत्रमा डेमोक्रेटिक उम्मेदवार विजयी हुनुलाई अमेरिकी राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। कन्सासमा झन्डै एक शताब्दीपछि पहिलोपटक डेमोक्रेटिक सिनेटर निर्वाचित भएका छन्। त्यस्तै, ओहायो र नर्थ क्यारोलाइनामा पनि डेमोक्रेटहरूले सिनेटका सिट जितेका छन्।

यस निर्वाचन परिणामसँगै डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्दै कंग्रेसको नियन्त्रण आफ्नो हातमा लिएको छ। यसअघि दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत थियो। बीबीसीका अनुसार डेमोक्रेटिक पार्टीले केही महिनाअघिसम्म अपेक्षा नगरेको स्तरको सफलता हासिल गरेको हो। यसलाई ट्रम्प प्रशासनप्रति मतदाताको असन्तुष्टिको अभिव्यक्तिका रूपमा समेत विश्लेषण गरिएको छ।

ट्रम्प प्रशासनमाथि बढ्नेछ संसदीय दबाब

कंग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत भएपछि राष्ट्रपति ट्रम्पका आगामी राजनीतिक तथा नीतिगत योजनामा अवरोध सिर्जना हुन सक्नेछ। डेमोक्रेटहरूले ट्रम्प प्रशासनका निर्णयमाथि निगरानी बढाउने, विभिन्न विषयमा अनुसन्धान अघि बढाउने र प्रशासनलाई जवाफदेही बनाउने अवसर पाउनेछन्। विश्लेषकहरूले ट्रम्पविरुद्ध तेस्रोपटक महाअभियोग प्रक्रिया अघि बढाउने सम्भावनासमेत औँल्याएका छन्। यद्यपि, त्यस्तो प्रक्रिया अघि बढ्ने वा नबढ्ने विषयमा अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन।

निर्वाचन परिणामबारे प्रतिक्रिया दिँदै ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको स्वीकार गरेका छन्। उनी आफ्नो पार्टीको कमजोर नतिजाबाट केही आश्चर्यमा परेको बताएका छन्। उनले इन्धनको महँगो मूल्यले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा असर पारेको पनि स्वीकार गरेका छन्। समाचार संस्था एपीका अनुसार उच्च जीवनयापन खर्च, इरानसँगको युद्ध तथा सरकारी भ्रष्टाचारप्रति मतदातामा रहेको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ। विशेषगरी बढ्दो महँगी र आर्थिक दबाबले ट्रम्प प्रशासनप्रतिको जनसमर्थन कमजोर बनाएको विश्लेषण गरिएको छ।

चुनावी हारपछि इरानमाथि थप प्रतिबन्ध

अमेरिकी निर्वाचन परिणाम सार्वजनिक भइरहेका बेला ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब थप्ने रणनीतिलाई पनि निरन्तरता दिएको छ। अमेरिकी वित्त मन्त्रालयले बुधबार भारत र टर्कीका कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। यी प्रतिबन्ध राष्ट्रपति ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अभियानअन्तर्गत लगाइएको हो। उक्त अभियानको मुख्य उद्देश्य इरानलाई तेल बिक्रीबाट आम्दानी गर्न रोक्नु रहेको छ। अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इरानी शासनलाई निरन्तर सहयोग गर्ने व्यक्ति तथा संस्थाविरुद्ध कारबाही जारी रहने बताएका छन्। उनले स्थल, समुद्र वा हवाई मार्ग जुनसुकै माध्यमबाट इरानलाई सहयोग गरे पनि प्रतिबन्धको दायरामा ल्याइने चेतावनी दिएका छन्।

वित्त मन्त्रालयले भारतमा रहेका सुनील कुमार शर्मा, उनकी पत्नी जसप्रीत प्रीति शाहिद तथा चण्डीगढका अश्वनी कुमार धीमान र इश्विन्दर सिंहलाई प्रतिबन्धको निशाना बनाएको छ। त्यस्तै, भारत, टर्की र सिंगापुरसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थामाथि पनि प्रतिबन्ध लगाइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यी व्यक्ति तथा संस्थाले इरानको प्रतिबन्धित तेल ओसारपसारमा संलग्न ‘स्यान्डो फ्लीट’ लाई सहयोग गर्दै आएका थिए। उनीहरूले प्रतिबन्धित जहाजलाई नक्कली झण्डा र प्रमाणपत्र उपलब्ध गराउने गरेको अमेरिकी वित्त मन्त्रालयको आरोप छ। इरानी पेट्रोलियम पदार्थ ओसारपसारमा प्रयोग हुने जहाज तथा इरानी सेना र उसका सहयोगी संगठनका लागि काम गर्ने सञ्जाललाई लक्षित गरेर प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ।

ट्रम्पका लागि चुनौतीपूर्ण दुई वर्ष

मध्यावधि निर्वाचनको परिणामले ट्रम्पको बाँकी कार्यकाल थप चुनौतीपूर्ण बन्ने देखिएको छ। संसद्का दुवै सदनमा डेमोक्रेटहरूको नियन्त्रण भएपछि प्रशासनका नीति कार्यान्वयन, बजेट तथा महत्वपूर्ण विधेयक पारित गराउन ट्रम्पलाई कठिनाइ हुन सक्छ। त्यसैगरी, इरानसँगको तनाव र बढ्दो आर्थिक दबाबले पनि उनको प्रशासनमाथि थप चुनौती सिर्जना गर्नेछ।

निर्वाचनले अमेरिकाको आन्तरिक राजनीतिक शक्ति सन्तुलन परिवर्तन गर्नुका साथै मस्कजस्ता प्रभावशाली अर्बपतिहरूको आर्थिक लगानीले मात्रै चुनावी परिणाम आफ्नो पक्षमा पार्न नसक्ने सन्देश दिएको छ। अब कंग्रेसमा डेमोक्रेटहरूको बहुमतले ट्रम्प प्रशासनका आगामी निर्णय र राजनीतिक भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने विषय अन्तर्राष्ट्रिय चासोको केन्द्र बनेको छ।

1

Scroll to Top