Banijya News

भारत र टर्कीका व्यापारी र कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध

1
1.0K Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई तेल कारोबारमा सहयोग गरेको आरोपमा भारत र टर्कीका विभिन्न कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेका बेला बुधबार अमेरिकी वित्त मन्त्रालयले प्रतिबन्धसम्बन्धी निर्णय सार्वजनिक गरेको हो।

अमेरिकी वित्त मन्त्रालयका अनुसार इरानी शासनलाई आर्थिक तथा व्यापारिक सहयोग गर्ने व्यक्ति र संस्थाविरुद्ध कारबाहीलाई निरन्तरता दिइनेछ। यी प्रतिबन्ध ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अभियानअन्तर्गत लगाइएको हो। यस अभियानको मुख्य उद्देश्य इरानलाई तेल बिक्रीबाट आम्दानी गर्न रोक्नु रहेको छ।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिबन्धको घोषणा गर्दै इरानलाई सहयोग गर्नेहरूलाई कडा चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘हामीले पटक–पटक भनेका छौँ, अपरेसन इकोनोमिक आउटकास्ट अन्तर्गत या त तपाईं हाम्रो पक्षमा हुनुहुन्छ या विपक्षमा। तपाईं कहाँ हुनुहुन्छ भन्ने हामीलाई थाहा छ। इरानी शासनलाई निरन्तर समर्थन गर्नेहरूविरुद्ध प्रतिबन्ध लगाउनेछौँ, चाहे उनीहरूले स्थल, समुद्र वा हवाई मार्गबाट यस्तो गरिरहेका हुन्।’

अमेरिकी वित्त मन्त्रालयको निर्णयअनुसार भारतमा रहेका सुनील कुमार शर्मा र उनकी पत्नी जसप्रीत प्रीति शाहिदको सञ्जाललाई प्रतिबन्धको निशाना बनाइएको छ। उक्त सञ्जालले इरानको ‘स्यान्डो फ्लीट’ लाई सहयोग गर्दै आएको अमेरिकी आरोप छ। प्रतिबन्धमा चण्डीगढका अश्वनी कुमार धीमान र इश्विन्दर सिंह पनि परेका छन्।

त्यस्तै, भारत, टर्की र सिंगापुरसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थामाथि पनि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धित संस्थामा एलेक्सार्या मिडिया एन्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड, आर्यावर्त मेरिटाइम एन्ड एजुकेसनल ट्रस्ट, एलेक्सार्या फिनसर्भ प्राइभेट लिमिटेड, आर्यावर्त शिप म्यानेजमेन्ट प्राइभेट लिमिटेड, फ्युगो ग्राउन्ड सर्भिसेज इंक, ओस्यानिक टेक्नोलोजिज इन्डिया, पोलिनेसिया मेरिटाइम प्राइभेट लिमिटेड र विहारा बोटिङ प्राइभेट लिमिटेडलगायत छन्।

अमेरिकी वित्त मन्त्रालयका अनुसार प्रतिबन्धित सञ्जालले इरानी पेट्रोलियम पदार्थ ओसारपसार गर्ने जहाजहरूलाई नक्कली झण्डा र प्रमाणपत्र उपलब्ध गराउने गरेको थियो। यसरी जहाजको वास्तविक पहिचान लुकाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्दै तेल कारोबार भइरहेको मन्त्रालयको दाबी छ।

इरानी सेना तथा उसका सहयोगी संगठनका लागि काम गर्ने जहाजहरू पनि उक्त सञ्जालसँग जोडिएको अमेरिकी अधिकारीहरूको आरोप छ।

अमेरिकाले यसअघि पनि इरानको तेल निर्यात र त्यसबाट हुने आम्दानी रोक्न विभिन्न व्यक्ति, कम्पनी तथा जहाजमाथि प्रतिबन्ध लगाउँदै आएको छ। पछिल्लो निर्णयले इरानसँग सम्बन्धित समुद्री व्यापारमा संलग्न अन्तर्राष्ट्रिय सञ्जालमाथि दबाब थप्ने देखिएको छ।

1

Scroll to Top