Banijya News

पदमुक्त आईजीपी कार्की पुगे सर्वोच्च, निर्णय रोक्न अन्तरिम आदेशको माग

1
1.0K Shares

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आफूलाई कानुनी प्रक्रिया पूरा नगरी तथा स्पष्टीकरण र सुनुवाइको मौका नदिई पदबाट हटाइएको दाबी गर्दै उनले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । कार्कीले आफूलाई बिनाआधार र कारण पदमुक्त गरिएको दाबी गरेका छन् । प्रहरी महानिरीक्षकको सेवा अवधि, पदावधि र उमेरहद प्रहरी ऐन २०१२ तथा प्रहरी नियमावली २०७१ मा स्पष्ट व्यवस्था गरिएको अवस्थामा कानुनी आधारबिना हटाइएको उनको जिकिर छ ।

सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र आफूलाई पदमा पुनर्बहाली गर्न माग गर्दै उनले सर्वोच्च अदालतसँग अन्तरिम आदेशसमेत माग गरेका छन् । सरकारले पूर्वाग्रही र स्वेच्छाचारी ढंगले आफूलाई पदमुक्त गरेको दाबी रिटमा गरिएको छ । निवेदन पेस भइसकेको र दर्ता प्रक्रियामा रहेको जनाएको छ । स्रोतका अनुसार उक्त रिट सोही दिन दर्ता हुने तयारी थियो ।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । त्यसपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरिएको छ ।
कार्कीले आफ्नो रिटमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नजिरलाई समेत आधार बनाएका छन् ।

२०५५ सालमा तत्कालीन प्रहरी प्रमुख खरेललाई पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अधिकृतमा सरुवा गरिएको थियो। त्यसपछि उत्पन्न कानुनी विवादमा सर्वोच्च अदालतको विशेष इजलासले २०५५ असार १९ गते महत्वपूर्ण फैसला गरेको थियो ।सर्वोच्चले सरकारको निर्णयमा वस्तुनिष्ठ आधार खुल्नुपर्ने र सरकारको तजबिजी अधिकारका नाममा स्वेच्छाचारिता हुन नहुने सिद्धान्तसमेत स्थापित गरेको थियो ।
त्यस्तै, नैतिक पतन देखिने, फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भई कैद सजाय पाएको तथा कानुनबमोजिम सजाय हुने अवस्थाबाहेक प्रहरी कर्मचारीलाई बर्खास्त गर्दा वा तलब घटाउँदा मनासिब अवधि तोकी सफाइको मौका दिनुपर्ने फैसला गरेको थियो।

कार्कीले यही नजिरलाई आधार बनाउँदै आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत नरहेको जिकिर गरेका छन् । यो लडाई सँगै बालेन सरकार नयँ आइजिप काण्डको भूमरिमा फसेको छ ।

1

Scroll to Top