Banijya News

पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिरमा सम्मेलन हुँदै

1
1.0K Shares

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालको पूर्वाधार विकासलाई गति दिने उद्देश्यले ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ। सार्वजनिक–निजी साझेदारीमा आयोजना हुन लागेको सम्मेलनमा पूर्वाधार क्षेत्रमा लगानीका अवसर, सरकारी नीतिगत तथा कानुनी सुधार र लगानीयोग्य परियोजनाबारे विस्तृत छलफल गरिने आयोजकले जनाएको छ।

‘Building for a Resilient Future’ अर्थात् उत्थानशील भविष्य निर्माणको मूल नारासहित आयोजना हुने सम्मेलनले बलियो, दिगो र उत्थानशील पूर्वाधार विकासमार्फत मुलुकको आर्थिक विकास तथा समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। विशेषगरी नेपाली लगानीकर्तालाई पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ।

सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना स्वदेशी तथा विदेशी लगानीकर्तासमक्ष प्रस्तुत गर्ने तयारी गरिएको छ। आयोजकका अनुसार हालसम्म २३ वटा परियोजना पहिचान भइसकेका छन् भने थप परियोजना छनोटको काम जारी छ। पहिचान भएका परियोजनामा लगानीकर्ताको चासो बढाउने र सम्भावित परियोजनामा लगानी सम्झौता गर्ने तयारीसमेत गरिएको छ।

नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको यस सम्मेलनको यो संस्करण नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो। सम्मेलनमा लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाली युवा निर्माण व्यवसायी समुदायले पनि सहकार्य गर्नेछन्।

सम्मेलनमा नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारले गरेका कानुनी तथा नीतिगत सुधारबारे जानकारी दिइनेछ। सरकारले पूर्वाधारसहित समग्र अर्थतन्त्रको विकासका लागि नयाँ कानुन निर्माण तथा विद्यमान कानुनमा संशोधन र सुधार गर्दै लगानीमैत्री वातावरण तयार गरिरहेको आयोजकको भनाइ छ।

यस क्रममा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित तीन प्रमुख विषयमा विशेष प्रस्तुति र छलफल हुनेछ। विभिन्न विधेयकमार्फत अघि बढाइएका कानुनी सुधार, राष्ट्रिय पूर्वाधार खाका तथा आगामी १० वर्षको पूर्वाधार विकाससम्बन्धी दृष्टिकोण सम्मेलनका प्रमुख छलफलका विषय रहनेछन्। साथै, लगानीकर्ताले परियोजना विकास र कार्यान्वयनका क्रममा भोगिरहेका समस्या समाधान गर्न आवश्यक प्रभावकारी संयन्त्रबारे पनि विमर्श गरिनेछ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा छलफल हुनेछ। यी छलफलमा स्वदेशी लगानीकर्ता, सरकारी निकायका प्रतिनिधि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ। सम्बन्धित मन्त्रालय र सरकारी निकायका प्रतिनिधिले लगानीका सम्भावना, नीतिगत सुधार तथा पहिचान गरिएका परियोजनाबारे जानकारी गराउनेछन्।

आयोजकले सम्मेलनलाई सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना र परियोजना कार्यान्वयनका चुनौतीबारे साझा धारणा निर्माण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ। लगानीयोग्य परियोजनाको पहिचान, लगानीकर्तासँग प्रत्यक्ष संवाद र सम्भावित सम्झौताले पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउने अपेक्षा गरिएको छ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ भने कार्यक्रमको अध्यक्षता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गर्नेछन्।

1

Scroll to Top