Banijya News

ठूला पूर्वाधार परियोजनामा नेपाली निर्माण कम्पनीलाई पनि साझेदारी दिन अध्यक्ष श्रेष्ठको आग्रह

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ठूला पूर्वाधार विकास परियोजनामा विदेशी लगानीकर्तासँगै नेपाली निजी क्षेत्रलाई पनि सहभागी गराउन सरकारसँग आग्रह गरेका छन् । उनले विदेशी कम्पनीलाई मात्रै परियोजनाको जिम्मेवारी दिनेभन्दा नेपाली निर्माण व्यवसायीलाई संयुक्त लगानी तथा साझेदारीको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘इन्फ्रास्ट्रक्चर समिट, २०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विदेशी कम्पनीसँगको सहकार्यले नेपाली निर्माण व्यवसायीको प्राविधिक क्षमता, दक्षता र अनुभव अभिवृद्धि हुने बताए । यसले भविष्यमा ठूला पूर्वाधार परियोजना नेपाली कम्पनी आफैँले निर्माण गर्न सक्ने आधार तयार गर्ने उनको भनाइ थियो ।

श्रेष्ठले ठूला परियोजनामा विदेशी कम्पनीसँगै नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा सहभागी गराउने नीति सरकारले अवलम्बन गर्नुपर्ने बताए । विदेशी लगानी भित्र्याउने क्रममा स्वदेशी निजी क्षेत्रको क्षमता विकासलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरे ।

यस सन्दर्भमा उनले भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण प्रस्तुत गरे । दिल्ली मेट्रो निर्माणका क्रममा भारतीय निर्माण कम्पनीलाई विदेशी कम्पनीसँग संयुक्त रूपमा काम गर्ने अवसर दिइएकाले अहिले भारतीय कम्पनीहरू आफैँ मेट्रो निर्माण गर्न सक्षम भएको उनले बताए । नेपालमा सुरुङ निर्माणका क्षेत्रमा विदेशी कम्पनीसँगको सहकार्यले नेपाली इन्जिनियरहरूको सीप र क्षमता विकासमा समेत योगदान पुर्‍याएको उनको भनाइ थियो ।

अध्यक्ष श्रेष्ठले नेपालको आर्थिक विकास र व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि पूर्वाधार विकासलाई आधारभूत आवश्यकता भएको बताए । कमजोर पूर्वाधारका कारण उद्योग तथा व्यवसाय सञ्चालनको लागत बढ्ने र नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने उनले औँल्याए ।

उनका अनुसार भन्सारमा सामान छुटाउन लाग्ने समयदेखि देशको पूर्वी क्षेत्रबाट पश्चिमी क्षेत्रसम्म पुग्न लाग्ने समयले समेत अर्थतन्त्रको कार्यक्षमता निर्धारण गर्छ । यातायात तथा ढुवानीमा लाग्ने समय र लागत घटाउन सके आर्थिक गतिविधि विस्तार हुनुका साथै व्यवसायको उत्पादकत्वसमेत बढ्ने उनले बताए ।

भारतको उदाहरण दिँदै श्रेष्ठले दिल्लीबाट जम्मु पाँच घण्टा र चण्डीगढ दुई घण्टामा पुग्न सकिने अवस्थाले पूर्वाधारको आर्थिक महत्त्व स्पष्ट पार्ने बताए । नेपालमा पनि सडक, सुरुङ, यातायात तथा अन्य आधारभूत संरचनाको विकासलाई तीव्रता दिनुपर्ने उनको धारणा थियो ।

यसैगरी, अध्यक्ष श्रेष्ठले नेपाल पूर्वाधार सम्मेलनको स्वामित्व सरकारले लिएर अघि बढाएकोमा स्वागत गरेका छन् । यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गर्दै आएको सम्मेलनलाई सरकारले समेत आफ्नो अग्रसरतामा निरन्तरता दिनु सकारात्मक कदम भएको उनले बताए । यसका लागि उनले निजी क्षेत्रका तर्फबाट सरकारप्रति आभार व्यक्त गरे ।

उनले लगानी सम्मेलनमा विदेशी लगानीकर्तासमक्ष परियोजना प्रस्तुत गर्नुअघि पर्याप्त अध्ययन, अनुसन्धान र तयारी गर्नुपर्नेमा पनि जोड दिए । लगानीकर्तालाई केवल परियोजनाको सूची उपलब्ध गराउनु पर्याप्त नहुने भन्दै कार्यान्वयनयोग्य, आर्थिक रूपमा सम्भाव्य र व्यावसायिक प्रतिफल दिन सक्ने परियोजना छनोट गर्नुपर्ने उनले बताए ।

1

Scroll to Top