Banijya News

भारतीय विदेश सचिवको भ्रमणमा राष्ट्रपति भेटघाट छुट्यो, प्रधानमन्त्रीको भारत भ्रमणमै केन्द्रित छलफल

1
1.0K Shares

भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी भारत फर्किएका छन् । यसपटकको उनको नेपाल भ्रमण विगतका भ्रमणभन्दा केही फरक देखिएको छ । विशेषगरी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट नगर्नु र विपक्षी दलका नेताहरूसँग संवाद नहुनुले उनको भ्रमणको शैलीबारे राजनीतिक वृत्तमा चासो बढाएको छ ।

मिश्रीको यसपटकको भ्रमण मुख्यतः प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीमा केन्द्रित रहेको देखिएको छ । दुई देशका अधिकारीहरूबीच भएका छलफल र भ्रमणपछि जारी संयुक्त वक्तव्यले पनि यसलाई पुष्टि गर्छन् ।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा काठमाडौं आएका मिश्रीले दुई दिनको बसाइमा प्रधानमन्त्री शाहसहित विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि शिष्टाचार भेट गरे । स्वदेश फर्किनुअघि बिहीबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग समेत उनको भेट भएको थियो ।

तर, यसपटक उनले राष्ट्रपति पौडेलसँग भेट गरेनन् । विगतमा भारतीय विदेश सचिव नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्री, सम्बन्धित मन्त्रीका साथै प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग समेत भेटघाट गर्ने परम्परा थियो । यसपटक भने त्यस्तो भेटघाटको दायरा सीमित देखिएको छ ।

करिब २७ महिनाको अवधिमा मिश्रीको यो तेस्रो नेपाल भ्रमण हो । विदेश सचिव बनेपछि उनले २०८१ साउनको अन्तिम साता पहिलोपटक नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले राष्ट्रपति पौडेल, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका थिए । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका नेताहरू तथा मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका थिए ।

त्यसपछि २०८२ भदौ १ देखि २ गतेसम्म नेपाल आएका मिश्रीको भ्रमण तत्कालीन प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीसँग सम्बन्धित थियो । ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने तयारी भए पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उनले राजीनामा दिनुपरेको थियो ।

यसपटक पनि भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी नै बनेको छ । बुधबार नेपाल–भारत विदेश सचिवस्तरीय बैठकको सुरुमै मिश्रीले आफ्नो छलफल प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने महत्त्वपूर्ण पहलहरूमा केन्द्रित रहने बताएका थिए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार बैठकमा मुख्यतः छवटा विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, हवाई तथा रेल सम्पर्क, सडक र पुल पूर्वाधार, द्विपक्षीय व्यापार, विकास सहकार्य र ऊर्जा क्षेत्रका विषय छलफलको प्राथमिकतामा थिए ।

त्यसैगरी दुई देशका नागरिकबीचको सम्बन्ध र आपसी सम्पर्क विस्तारबारे पनि दुवै पक्षले विचार आदानप्रदान गरेका थिए । ऊर्जा क्षेत्रमा भइरहेको सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने विषयमा समेत सहमति भएको जनाइएको छ ।

भ्रमणपछि जारी संयुक्त वक्तव्यमा नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ । यद्यपि, विगतको तुलनामा यसपटक उच्च राजनीतिक तहमा भेटघाट सीमित रहनु र छलफल प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित हुनु यस भ्रमणका उल्लेखनीय पक्ष बनेका छन् ।

1

Scroll to Top