April 30, 2025, Wednesday
[nepali_today_date]

चितवनमा प्रचण्डलाई दिए जनताले नमिठो चक्मा

चितवनमा प्रचण्डलाई दिए जनताले नमिठो चक्मा

आइतवार १५ मंसिर, २०७६
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा भएको उपचुनावमा सवै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएसँगै नेकपाका अध्यक्ष प्रचण्डलाई ठूलै झडका लागेको छ । अहिले दुई पार्टी मिलेर बनेको सत्तारुढ दलले तीनमध्ये कम्तीमा दुई वटा वडा जित्ने दाबी गरेको थियो । यसअघि भएको चुनावमा भरतपुर १६ मा तत्कालीन नेकपा एमाले र खैरहनी ४ र ५ मा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला एवम् निर्वाचन क्षेत्रमै पर्ने भरतपुर १६ को निर्वाचनमा नेकपा पराजित भएको छ । यसअघि नेकपा एमालेले एक्लै जितेको वडामा अहिले दुई पार्टी मिलेर वनेको नेकपाका उम्मेदवार नै पराजित हुनुले नेकपामा तरंग पैदा गरेको छ ।

भरतपुर १६मा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो । अहिले पार्टी एक हुँदा पनि कांग्रेससँग ३०८ मतको अन्तरले पराजित भएको छ । नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पनि नेकपा पराजित भएको छ । चितवनको खैरहनी नगरपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई पराजित गर्नुभएको छ । बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गर्नुभयो भने अधिकारीले ९८६ मत प्राप्त गर्नुभयो । २ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो । यस वडामा यसअघिको चुनावमा नेपाली कांग्रेस नै विजयी भएको थियो । यसैगरी खैरहनी वडा नं.५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी हुनुभएको छ । कार्कीले ८ सय ४२ प्राप्त गर्नुभएको थियो भने नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गर्नुभएको छ । २ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो । यसअघिको चुनावमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो । विजयी उम्मेदवार बस्नेत निधन भएका वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुनुहुन्छ ।

Advertisement