April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

प्रजातन्त्र दिवस तीन दिन मनाइने, घरघरमा दीपावली गर्न सरकारको आह्वान

प्रजातन्त्र दिवस तीन दिन मनाइने, घरघरमा दीपावली गर्न सरकारको आह्वान

एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष आजदेखि तीन दिनसम्म मनाइने भएको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मूल समारोह समितिले प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम आयोजना गरी तीन दिनसम्म मनाउने निर्णय गरेको हो। ७ फागुन, २००७ मा राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको थियो। त्यही दिनकै सम्झनामा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाइँदै आएको छ । यो वर्ष भने तीन दिन मनाउन लागिएको हो ।

Advertisement

यस अवसरमा देशभर र विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ मनाउन लागिएको छ । २० माघमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो ।

बैठकले प्रजातन्त्र दिवसका अवसरमा ६, ७ र ८ फागुनमा गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो । समितिले अनुमोदन गरेअनुसार बिहीबारदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।

७ फागुनकै जगमा टेकेर २६ चैत, २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएको थियो भने ११ वैशाख, २०६३ मा लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा १५ जेठ, २०६५ मा पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित गरेको हो ।

दोस्रो संविधानसभाले ३ असोज, २०७२ मा संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग ७ फागुनको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रूपमा मनाउने लागिएको मूल आयोजक समितिले जनाएको छ ।्

यस अवसरमा सरकारी एवं गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । आजदेखि तीन दिनसम्म दीपावली गर्न पनि सरकारले आह्वान गरेको छ । (रासस)