‘सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनःस्थापना गरे देश अस्थिरतामा जान्छ,’–प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनःस्थापना गरे गठजोडको सरकार बन्ने र मुलुक अस्थिरतामा जाने दाबी दावी गरेका छन् । नेकपाको ओली समूहले विराटनगरमा गरेको सभामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनःस्थापना भए एकल पार्टीको बहुमतको सरकार नरहने र त्यस्ले मुलुकलाई अस्थिर बनाउँने बताएका हुन् ।
ओलीले भने, ’कथमकदाचित पुनःस्थापना भए के गर्ने भन्दा अब बहुमतको सरकार रहेन । बहुमतको सरकार रहँदैन । त्यसो भएपछि विभिन्न गठजोड गर्नका लागि फेरि उही सांसद किनबेच, दलहरुका बीचमा मोलतोल, फेरि समीकरण, फेरी सरकार ढलाउ, फेरि सरकार बनाउ फेरि त्यै खेलमा आगामी डेढ–दुई वर्ष त्यसैमा समाप्त हुन्छ ।’
प्रतिनिधिसभा पुनःस्थपाना भएपछिका सरकारले मुलुकलाई विकासको बाटोमा अघि बढाउन नसक्ने प्रधानमन्त्री ओलीको दाबी थियो । उनले देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुने समेत बताएका छन् । ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि अगाडि बढ्ने बताएका हुन् ।
‘यदि कहीँ कुनै प्रकारको जालझेल, षड्यन्त्र टिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ’, उनले भने । उनले यस्ता शक्ति को हुन भन्ने नखुलाए पनि उनको भनाइ अदालतप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।
उनले नेकपाको आधिकारिकता र सूर्य चिन्ह आफूहरुले नै पाउने बताए । उनले अरुले जित्ने कुनै कारण नभएका कारण आफूहरुको विजय सुनिश्चित भएको दाबी गरे । चुनाव हुन्छ नै, त्यसकारण तपाईंहरु आत्मविश्वासकासाथ अगाडि बढ्नुस्, ओलीले भने ।
प्रतिकृया दिनुहोस्