January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

आज बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक

आज बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक


काठमाण्डौ – आज बैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औँ बुद्ध जयन्ती । महामानव गौतम बुद्धको बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन । सोही सम्झनामा आजको दिनलाई बौद्धधर्माबलम्बीहरुले विशेष दिनका रुपमा मनाउने गरेका छन् । भगवान गौतम बुद्धमा मुख्य तीन संयोग आजकै दिन परेकाले बौद्धधर्माबलम्बी ले यसलाई त्रिसंयोग दिवसका रुपमा मनाउने गरेका छन् । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँदै छन् ।

Advertisement

निषेधाज्ञाका कारण यो बर्ष पनि बुद्धजयन्ती प्रभावति भएको छ । चैत्य, गुम्बा, विहार लगायतमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने छ । कोरोनाको जोखिमका कारण अहिले यी ठाउँमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । गएको वर्ष पनि लकडाउनका कारण चैत्य, गुम्बा, विहारलगायतमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।

Advertisement

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । घर छाडेर तपस्यामा गरेका उनले ३५ वर्षको उमेरमा आजै दिन इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा विश्वमा परिचित बने । उनले शुरुमा आफूले प्राप्त गरेको ज्ञान पाँच जना शिष्यलाई प्रदान गरेका थिए ।

बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्दा चार सत्यको व्याख्या गरेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् । यिनै चार सत्यलाई बुद्धको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।