August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

काम निरिक्षण गर्न पुगेका वडाध्यक्षलाई डोजर चालकले बकेटले हानेर पुरिदिए

काम निरिक्षण गर्न पुगेका वडाध्यक्षलाई डोजर चालकले बकेटले हानेर पुरिदिए

सर्लाही । आफ्नै वडामा स्थरोन्नति हुँदै गरेको पोखरीको निरिक्षण गर्नु पुगेका वडाध्यक्षलाई डोजर चालकले बकेटले हानेर हत्यागरी पुरिदिएका छन् । ईश्वरपुर नगरपालिका वडा नं ३ भक्तिपुरमा रहेको खलाल दास पोखरीको स्तरोन्नति कार्य भइरहँदा त्यस क्षेत्रका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ निरीक्षण गर्न पुगेका थिए । निर्माणको क्रममा केही मापदण्ड मिचिएपछि वडाध्यक्ष श्रेष्ठले विरोध जनाएका थिए ।

सो क्रममा डोजर चालकसँग विवाद हुँदा चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर उनको हत्या भएको प्रहरीले बताएको छ ।
केही दिनयता पोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य भइरहेको थियो । सोको निरीक्षण गर्न पुगेका वडाध्यक्षको चालकसँग विवाद भएपछि उक्त घटना हुन पुगेको बताइएको हो । शुक्रबार राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक रविन भन्ने हर्कबहादुर तामाङलसँगै रहेका थिए ।

उनीहरुले नजिकैको एक होटलमा सँगै खाजा समेत खाएको र त्यसपछिफर्किने क्रममा राति करिब १० बजे विवाद बढेपछि चालक तामाङले वडाध्यक्ष श्रेष्ठलाई बकेटले हानेका थिए । डोजरको बकेटले हानेर लडाएपछि माटोले पुरिदिएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार चलकले रातको समय पारेर वडाध्यक्ष श्रेष्ठको हत्या गर्ने योजना बनाएका थिए । त्यही भएर उनले बकेटले हानेर लडाएको र सोही स्थानमा पुरेको खुल्न आएको छ ।

घटनालगत्तै प्रहरी टोली पुगेको थियो । प्रहरी पुग्दा वडाध्यक्ष श्रेष्ठ अचेत अवस्थामा नै प्रहरीले उद्धार गरेको थियो । त्यसपछि तत्काल जिल्ला अस्पताल मलंगवा पुर्याइएको थियो । तर त्यहाँ पुग्दा चिकित्सकले मृत घोषित गरेका थिए । घटनामा संलग्न चालक तामाङसँगै ठेकेदार दाहाललाइ प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ । मृतक श्रेष्ठको पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।