April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

धान दिवसः आत्मनिर्भर हुन थप ६ हजार मेट्रिक टन धान उत्पादन हुनुपर्ने

धान दिवसः आत्मनिर्भर हुन थप ६ हजार मेट्रिक टन धान उत्पादन हुनुपर्ने

आज असार १५ अर्थात् धान दिवस । किसानले ‘मानो रोपेर मुरी फलाउने’ दिनका रुपमा समेत यस्लाई बुझ्दै आएका छन् । देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँने भनेपनि कोरोना महामारीका दिन यस वर्षको दिवसका नाममा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन ।

Advertisement

वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको यो दिवस कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ । दही चिउरा खाने बेला तथा आवजतजावत गर्दा मापदण्ड अनुसारको दूरी कायम गर्ने तथा सम्भव भएसम्म प्रविधि र मेसिनको प्रयोग गरेर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।

Advertisement

देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिएपनि धान उत्पादन बढाउन भने चुनौती छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ ।

सात वटै प्रदेशमध्ये प्रदेश–१ र लुम्बिनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ । अरु सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन । थप ६ हजार टन धान उत्पादन हुन सकेमा नेपाल धानमा आत्मनिर्भर हुने छ ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को १० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ । सरकारले चालु आर्थिक बर्षमा ६० लाख टन धान उत्पादन गर्ने लक्ष्य राखेको छ । कृषि मन्त्रालयका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन हुँदा मात्र नेपाल धानमा आत्मनिर्भर हुन्छ । धान उत्पादन बढाएर आत्मनिर्भर हुन सबै प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

यो वर्ष मनसुनको सुरुमै पानी परेकाले देशका धेरै ठाउँमा समयमै रोपाइँ सुरु भएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी र पश्चिम तराईका धेरै ठाउँमा रोपाइँ लगभग सकिएको कृषि मन्त्रालयले जनाएको छ । धान खेतीका लागि यो वर्ष रासायनिक मलको अभाव नहुने पनि सरकारले दाबी गरेको छ ।

१ अर्ब ६१ करोडको धानको बीउ आयात
नेपालमा यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरुले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरु आयात गरेको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । आयात गरिएकामध्ये ३९ वटा जातका बीउ भारत र बाँकी सातवटा जात चीनबाट आयात भएको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार २४ आयातकर्ता कम्पनीहरुले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको ४ हजार १ सय ४९ मेट्रिक टन धानको बीउ आयात गरेका हुन् । नेपाली बीउ उत्पादक कम्पनीहरूले वार्षिक १० हजार मेट्रिक टन धानको बीउ उत्पादन गर्ने गरेको तथ्यांक छ । कतिपय किसानले आफ्नै स्थानीय बीउ पनि प्रयोग गर्ने गरेका छन् ।

दही चिउरा खाने पर्व

असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही चिउरा खाएर असार १५ मनाउँछन् । दही चिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

यता राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो । कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ ।