March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुल निर्माण सम्पन्न, २१ को ठेक्का सम्झौता बाँकी

मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुल निर्माण सम्पन्न, २१ को ठेक्का सम्झौता बाँकी

असार १५, काठमाडौं । राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले जानकारी दिएको छ ।

Advertisement

आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ ओटा पुलको ठेक्का सम्झाता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए ।

Advertisement

उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुलको ठेक्का हुन बाँकी छ । निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले सात ओटा पुलको ठेक्का भइसकको र चार ओटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा थियो ।

ती बाहेकका अरु पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न नसकिएको उनले बताए । उनले भने, ‘दुईचार ओटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले सकिएको छैन ।’

चालू आबमा सो आयाजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ । त्योभन्दा धरै संख्यामा सम्पन्न गर्न लक्ष्य भएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार नभएको उनले बताए । हाल निर्माणाधीन २२ ओटा पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति नभएको उनको भनाइ छ । उनले भने, ‘अझै पनि मसान्तसम्ममा केही संख्या थपिनसक्छ ।’

मध्यपाहाडका विभिन्न जिल्लालाई जोड्ने सो राजमार्गलाई देशको मध्यपाहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग, हुलाकी राजमार्ग पछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग रहेको छ । पाँचथर जिल्लाको चियो भञ्ज्याङबाट शुरु भएको राजमार्ग बैतडीको झुलाघाटसम्म रहेको छ ।

राजमार्ग निर्माणसँगै नयाँ शहर विकास हुने अपेक्षा गरिएको छ । आव २०७९/८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनामा अझै कतिपय स्थानमा रेखांकन परिवर्तन गर्नुपर्ने माग भइरहेको छ ।

पुल निर्माणका लागि दुईतीन वर्ष समय लाग्ने भएकाले लक्ष्यअनुसार समयमा सम्पन्न गर्न बाँकी स्थानमा सडक र पुल निर्माणका लागि प्रक्रिया अघि बढाइनुपर्ने सडक विभागले बताउँदै आएको छ । रासस