August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

एमाले जेठ २ अघिको संरचनामा फर्कने, स्थायी कमिटीले गर्यो यस्तो निर्णय

एमाले जेठ २ अघिको संरचनामा फर्कने, स्थायी कमिटीले गर्यो यस्तो निर्णय

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले गत फागुनदेखि उठाउँदै आएको जेठ २ अघिको संरचनामा फर्कनुपर्ने माग पूरा भएको छ । अन्ततः माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जीत हासिल गरेको छ । नेकपा एमालेको स्थायी समितिले पार्टी संरचना २०७५ जेठ ३ गते अवस्थामा फर्काउने निर्णय गरेसँगै एमालेमा खनाल नेपाल खेमाको जित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार माओवादी केन्द्र परित्याग गरेका नेताहरुलाई समेत समेटेर बनाइएको स्थायी समितिको बैठकले पाटीलाई २०७५ जेठ ३ को संरचनामा फर्काउने निर्णय गरेको हो । यो निर्णय भोलि बस्ने महाधिवेशन आयोजक समितिको बैठकले अनुमोदन गरेपछि लागू हुने छ ।

दसौँ महाधिवेशन आयोजक कमिटीको बैठकको एजेण्डा तय गर्न बसकेको बैठकले यो निर्णय लिएको हो । नेकपाको असन्तुष्ट पक्षले भने निसर्त रुपमा जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको छ । एमालेको नवौँ महाधिवेशनले १ सय ५९ जना केन्द्रीय सदस्य चयन गरेको थियो । त्यसपछि दुईपटक गरी केन्द्रीय सदस्य २ सय ३ पुर्याएको थियो । यो अवस्थालाई एमालेमा जेठ २ को संरचना भन्ने गरिएको छ । २०७५ जेठ ३ मा माओवादीसग एकता गर्नुपूर्व बसेको स्थायी समिति बैठकले ४६ जना केन्द्रीय सदस्य थप गरी २ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाएको थियो । यीमध्ये केही स्थान कारवाहीमा परेका र राजदूत नियुक्त भएकाहरुका कारण रिक्त थिए । जेठ ३ मा थपिएका ४६ सदस्यप्रति नेपाल खेमाको असन्तुष्टि छ ।

केपी ओली पक्षले जेठ २ मा फर्कने निर्णय गरे पनि १८ गते बोलाइएको बैठकमा माधव नेपाल पक्ष सहभागी हुने, नहुने निश्चित भइसकेको छैन । ओली पक्षले बोलाएको बैठकमा जाने कि नजाने भन्नेबारे माधव पक्षको स्थायी कमिटी बैठक विहीबार बस्ने नेताहरुले बताएका छन् ।

बिहीबारको बैठकले १८ गतेको बैठकमा जाने, नजानेबारे टुंगो लगाउने माधव नेपाल पक्षका नेताहरुले बताएका छन् । ओली पक्षले पनि औपचारिकताका लागि बुधबार बालुवाटारमा महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । आयोजक समितिको बैठक बोलाइएको अघिल्लो दिन स्थायी कमिटीले आयोजक समितिलाई खारेज गरेको छ ।