August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

जीवन विकासको आइपीओमा नयाँ रेकर्ड, लगानीकर्ता २० लाख ८४ हजार माथि

जीवन विकासको आइपीओमा नयाँ रेकर्ड, लगानीकर्ता २० लाख ८४ हजार माथि

काठमाडौंः कोरोना महामारीले लगानीको अन्य बिकल्प नभेटेका लगानीकर्ता जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने झुमिएका छन् । यसरी लगानी कर्ता झुमिदा आवेदन दिनको नयाँ रेकर्ड नै कायम भएको छ । यसमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझसम्मको रेकर्ड हो यो । यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । जीवन विकासले यसलाई पनि पछि पारेको छ । हालसम्म सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परिसकेको छ । तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले कम्पनीको आईपीओमा असार ११ गतेदेखि छिटोमा असार १५ गतेसम्म र ढिलोमा असार २५ गते आवेदन दिन पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने ब्यावस्था गरेको छ । न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा १ लाख ८४ हजार ८०१ जना लगानीकर्ताले मात्र यो आइपीओ हात पार्ने देखिन्छ । तसर्थ, जीवन विकासको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुनेछ । यस कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

जीबन विकास कम्पनीलाई लघुवित्त क्षेत्रकै उत्कृष्ट कम्पनीको रुपमा लिने गरिन्छ । आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षणपछिको वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी अझै बढी रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २७ पैसा रहेको थियो ।

४१ करोड ६ लाख ७० हजार चुक्ता पुँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तको सञ्चित तथा जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख १० हजार रहेको छ ।