August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

असार आधा सकिदा देशभर २७ प्रतिशत रोपाइँ सम्पन्न, सबैभन्दा बढी कर्णाली प्रदेशमा

असार आधा सकिदा देशभर २७ प्रतिशत रोपाइँ सम्पन्न, सबैभन्दा बढी कर्णाली प्रदेशमा

असार १६, काठमाडौं ।
असार महिना आधा सकिँदा देशभर २७ प्रतिशत भुभागमा रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको हो । जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो ।

यो वर्ष देशभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा धान रोपाइँ हुने मन्त्रालयले जनाएको छ । त्यसमध्ये ३ लाख ७१ हजार हेक्टरमा रोपाइँ सकिएको छ । धानका लागि सबैभन्दा उर्वर मानिएको तराई क्षेत्रमा भने रोपाइँ भर्खर सुरु भएको छ । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टर मात्रै धानका लागि खेतीयोग्य जमिन रहेकोमा ६२.१४ प्रतिशत रोपाइँ सकिएको छ ।

त्यस्तै, सुदूरपश्चिममा १ लाख ६४ हजार हेक्टर धानका लागि खेतीयोग्य रहेकोमा ४८.३१ प्रतिशत रोपाइँ सकिएको छ । यसैगरी प्रदेश नं १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कूल क्षेत्रफलमध्ये १७ दशमलव ९९ प्रतिशत रहेको छ ।

त्यस्तै प्रदेश नं २ मा १० दशमलव ५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र धानबाली रोपाइँ सकिएको छ । वाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी, गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेको छ ।

अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको छ । गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो । मुलुकको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादनले कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष असर गर्ने गरेको छ । त्यस्तै, धान उत्पादन भएको वर्ष देशको आर्थिक वृद्धिदरसमेत बढ्ने हुँदा धान रोपाइँलाई विशेष महत्व दिने गरिएको छ ।