August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

हवाई उडान दुई महीनापछि संचालनमा, कुन एयरलाइन्सले कति उडान गर्दे ?

हवाई उडान दुई महीनापछि संचालनमा, कुन एयरलाइन्सले कति उडान गर्दे ?

१७ असार, काठमाडौं । दुई महीनापछि सरकारले आजबाट अन्तरिक उडान हुनेभएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान विभिन्न स्वास्थ्य मापदण्ड पालना गर्ने गरी कोटा प्रणालीमा संचालनमा आएका हुन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी उडान अनुमति दिएकोमा स्वास्थ्य मापदण्डमा कडाई गरेको छ । हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ ।

मापदण्डमा उडान नियमित गरिए पनि हाललाई साविकको तुलनामा ५० प्रतिशत मात्र उडान हुनेछ । एयरलाइन्सले कोटा अनुसार उडान अनुमति पाएका हुन् । जसमा बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । त्यस्तै यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान अनुमति पाएको छ ।

बुद्ध एयरले काठमाडौंबाट विराटनगरसम्म दैनिक चार वटा उडान गर्नेछ । तुम्लिङटार र सुर्खेतका लागि एक उडान, भद्रपुरका लागि तीन उडान तय भएको छ । सिमरामा दैनिक तीन, जनकपुरमा दैनिक तीन, पोखरामा तीन, भैरहवामा पाँच, नेपालगञ्जमा तीन र धनगढीमा दुई उडान गर्ने गरी तालिका मिलाइएको छ । यतीले भद्रपुरमा दुई, विराटनगरमा तीन, जनकपुरमा दुई, सिमरामा दुई, पोखरामा दुई, भैरहवामा दुई, नेपालगञ्जमा दुईवटा उडानको अनुमति पाएको छ ।

श्री एयरलाइन्सले भद्रपुरमा दैनिक एक, विराटनगरमा एक, भैरहवामा एक, नेपालगञ्जमा र धनगढीमा दैनिक दुई÷दुई उडान गर्नेछ । सौर्य एयरको जहाज भने काठमाडौंबाट भद्रपुर, विराटनगर र भैरहवाका लागि एक÷एक उडानमा हुनेछ । काठमाडौंबाट लुक्का, फाप्लु, डोल्पा र सिमकोट गरी दुर्गममा विमानस्थलमा उडान हुने गर्छ । यी गन्तव्यलाई दैनिक ८ उडान तोकिएको छ । समिट, तारा र सीताले यो उडान उपयोग गर्न सक्नेछन् ।

दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ ।

त्यस्तै बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो । सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको हो । कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । अर्को नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ ।