March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

असार १७, काठमाडौं ।

Advertisement

सरकारले वीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।  गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बसन्तकुमार नेम्बाङले बताए। लम्जुङमा जन्मिएका भक्ति थापा गोरखासँगको अन्तिम युद्धमा पराजित भै युद्धबन्दीका रूपमा काठमाडौं पुगेको र करीब एक वर्षपछि उनी नेपाली फौजका सरदार भै नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए ।

Advertisement

थापाकै नेतृत्वमा नेपाल कुमाउ, गढवाल हुँदै सतलज नदीसम्म विस्तार भएको थियो। नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए ।

यसैबीच मन्त्रिपरिषद् बैठकले नै नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री नेम्बाङले स्वतन्त्र रूपमा सञ्चालन हुने गरी नेपाल विश्वविद्यालय गठन गर्न नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति गठन गरिएको बताए।

यस्तै बैठकले  बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण समिति सदस्यमा खड्गधर राई र वंशीधर लामालाई नियुक्त गर्ने निर्णय गरेको छ।  यस्तै राष्ट्रिय योजना आयोग सदस्यमा बाजुराका राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री नेम्बाङले बताए।

सरकारले राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राईलाई नियुक्त गर्ने निर्णय गरेको छ। सीटीईभीटीका सदस्यसचिवमा स्याङ्जाका जितनारायण काफ्लेलाई नियुक्त गर्ने निर्णय भएको छ। राष्ट्रिय बिमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई पुनः नियुक्ति दिने निर्णय गरिएको छ।

नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा इन्जिनियर शिवमंगल गिरीलाई नियुक्त गर्ने निर्णय भएको छ। सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्षमा पाँचथरका भीमकुमार ओझालाई नियुक्त गर्ने निर्णय भएको छ। यस्तै सदस्यमा ओखलढुंगाका महेन्द्रबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको छ।