September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

एकताको प्रस्ताव लिएर ओली पक्षका नेता नेपाल निवासमा

एकताको प्रस्ताव लिएर ओली पक्षका नेता नेपाल निवासमा

असार २०, काठमाडौं ।

नेकपा (एमाले) का नेताहरुले फेरि पनि एमाले एकताका लागि पहल थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुले छलफल थालेका हुन्। ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता नलिए एकता नहुने बताएको भए पनि दोस्रो तहका नेताहरुले नेपाललाई फकाउने प्रयास गरेका छन्।

Advertisement

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेका छन्। ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर उनीसँग छलफल गरेका हुन्।

केही दिनयता लगातार भएको छलफलबारे नेपाललाई उनी पक्षधरहरुले मात्रै ब्रिफिङ गर्दै आएकोमा आज ओली पक्षधर नेताहरु पनि नेता नेपाललाई भेट्न पुगे। यसअघि वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदा नेतात्रयले नेता नेपाललाई ब्रफिङ गरेका थिए। वार्ताटोलीको यसअघिको बैठकले एकताका लागि विभिन्न प्रस्ताव अघि सारेको थियो।

सो अवसरमा आफूहरूले राखेको प्रस्तावमा नेता नेपालले आफूपक्षका नेताहरुसँग छलफल गर्ने प्रतिक्रिया दिएको भेटमा सहभागी एक नेताले बताए।  एमाले एकताका  लागि आफू सकारात्मक भए पनि ओलीले एकता नचाहेकोले अहिलेको अवस्था आएको नेपालको आरोप थियो।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदै एमालेमा रहन वा गठबन्धन रोज्न नेपाल पक्षलाई समयसीमा दिएलगत्तै दुई पक्षबीच अझ धेरै छलफल भएका छन्। नेपाल पक्ष भने पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनु पर्ने र ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफी माग्नु पर्ने अडानमा छ। दोस्रो तहका नेताहरुसँग नेपालले शनिवार पनि छलफल गरेका थिए।