September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

साउदी जाने नेपाली श्रमिकको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने

साउदी जाने नेपाली श्रमिकको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने

असार २२, काठमाडौं ।

साउदी अरबमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च रोजगारदाताले बेहोर्ने भएका छन् । साउदी अरब जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन बस्दा लाग्ने खर्च रोजगारदाताले नै व्यहोर्ने भएका हुन् ।

Advertisement

साउदी श्रम प्रणालीले समेट्ने श्रमिकहरुको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले र घरेलु श्रमिकको हकमा सम्बन्धित रिक्रुटिङ एजेन्सीले बेहोर्ने व्यवस्था भएको वैदेशिक रोजगार विभागले जनाएको छ।

साउदी सरकारले गत २० मे २०२१ पछि साउदी प्रवेश गर्ने कोभिड खोपको पुरा मात्रा नलगाएका आप्रवासीहरुलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो। क्वारेन्टिन शुल्क हवाई भाडा बुझाउँदा नै बुझाउनु पर्ने व्यवस्था थियो। सो व्यवस्थाले आप्रवासीलाई क्वारेन्टिनबापत एक हजार अमेरिकी डलरसम्म भार थपिएको थियो। त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिकहरु परेका थिए।

क्वारेन्टिन वापतको खर्चको भार कामदारलाई पर्न नदिने व्यवस्था गरिदिन परराष्ट्र मन्त्रालयले निरन्तर पहल गर्दै आएको थियो । विभागका अनुसार दूताबासबाट साउदी परराष्ट्र मन्त्रालयमा १० जुन र १३ जुनमा पत्राचार गरिएको थियो ।

सोही पत्रचारको जवाफ दिँदै साउदी सरकारले संस्थागत क्वारेन्टिनको खर्च सम्बन्धित रोजगारदाताले र घरेलु कामदारको हकमा सम्बन्धित रिक्रुटिङ एजेन्सीले व्यहोर्ने व्यवस्था गरेको हो ।