March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

निषेधाज्ञा खुकुलोसँगै बढ्न थाल्यो सङ्क्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

असार २४, काठमाडौैं ।

Advertisement

निषेधाज्ञा खुकुलो भएसँंगै कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । सरकारले काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा निषेधाज्ञा खुकुलो बनाउन थालेपछि कोरोना संक्रमितको दर पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार झन्डै तीन हजार जनामा सङ्क्रमण देखिएको छ ।  ११ हजार आठ सय ९८ जनामा गरिएको परीक्षणमा करिब तीन हजारको संख्यामा संक्रमित थपिएका हुन् । केहि दिन यता  प्रत्येक दिन दुई हजार जनाको हाराहारीमा सङ्क्रमण झरिसकेको अवस्थामा बुधबार दैनिक क्रमशः बढ्दै गई तीन हजारको हाराहारीमा पुगेको हो ।

Advertisement

सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि निषेधाज्ञा खुकुलो पार्दै लगेको थियो । यातायात सुचारु गरेसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो । वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले निषेधाज्ञा खुलाउन सरकारले हतार गरेको बताए । एक हजार÷एक हजार पाँच सयको सङ्ख्यामा घटिसकेको सङ्क्रमण यातायातलगायत बजार पसल खुलेसँंगै बढेको जानकारी गराउँदै उहाँले दैनिक तीन हजारको हाराहारीमा सङ्क्रमण पुष्टि हुनुलाई घटेको भन्न नमिल्ने र जनस्वास्थ्यको मापदण्डबिना चललपहल बढ्नु ठीक नभएको बताए ।

दोस्रो लहरको सङ्क्रमण चरमबिन्दुमा पुगेका बेला एक महिनाअघि दैनिक नौ हजार चार सयसम्म कोरोना सङ्क्रमित पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार असार १४ गते  ११ हजार छ सय ४० जनाको परीक्षण भएकामा दुई हजार चार सय ४४ जनामा कोरोना पुष्टि भएको थियो । असार १५ गते ११ हजार सात सय ४८ जनाको परीक्षण गर्दा दुई हजार छ सय ३६ जनामा संक्रमण भएको थियो भने असार १६ गते ११ हजार पाँच सय ६८ जनाको परीक्षण गर्दा दुई हजार आठ सय ९२ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यसपछि असार १७ गते १० हजार नौ सय ८५ जनाको परीक्षण गर्दा अघिल्लो दिनको तुलनामा घटेर दुई हजार सात सय ६० जनामा कोरोना देखिएको थियो । असार १८ गते १० हजार पाँच सय ९६ जनाको परीक्षण गर्दा दुई हजार दुई सय ९९ जना, असार १९ गते १० हजार एक सय ३३ जनाको परीक्षण गर्दा दुई हजार तीन सय २८ जना, असार २० गते आठ हजार एक सय ३२ जनाको परीक्षण गर्दा एक हजार छ सय तीन जनालाई कोरोना पुष्टि भएको थियो ।

असार २१ गते ११ हजार पाँच सय २७ जनाको परीक्षण गर्दा दुई हजार छ सय २२ जनामा कोरोना पुष्टि भएको छ । असार २२ गते १२ हजार पाँच सय ८५ जनाको परीक्षण गर्दा संक्रमितको संख्या दुई हजार छ सय ३४ जना पुगेको छ भने असार २३ गते बुधबार संक्रमितको संख्या बढेर दुई हजार नौ सय ७९ जना पुगेको हो । उक्त दिन ११ हजार आठ सय ९८ जनाको परीक्षण भएको थियो । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ९० हजार ९७४ पुगेको छ ।

बुधबार २८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बुधबारसम्म नौ हजार दुई सय ९१ जनाको कोरोनाको कारण मृत्यु भएको छ । नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, झापा, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । देशभर सक्रिय सङ्क्रमित २३ हजार ७५६ जना रहेका छन् । यसअघि कोरोना अत्यधिक वृद्धि हुँदा देशभर एक लाख १७ हजारसम्म सक्रिय सङ्क्रमित पुगेका थिए । बुधबार काठमाडौँमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना सङ्क्रमित थपिएका छन् । यस्तै देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १६१ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको बताए । उनले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको बताउँछन् । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशले जनस्वास्थ्य मापदण्ड उल्लघंन गर्नेहरूलाई ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने उल्लेख भए पनि कार्यान्वयनमा आएको छैन । यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरे पटकैपिच्छे एक सय रुपैयाँ जरिमाना भनिए पनि नियमनकारी निकायले उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकेको पाइएको छ ।