April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

एमालेको विवाद समाधान कार्यदलको बैठक बेलुका ७ बजे बस्ने

असार २४, काठमाडौं ।

Advertisement

नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । आज केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो ।

Advertisement

हिजो बुधवार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपछि विवाद समाधान थप सहज बनेको नेताहरूको दाबी  छ । आन्तरिक तयारीका लागि अहिले बैठक स्थगित भएको र ७ बजे बस्ने बैठकले सम्भवत सबै विवादको समाधान निकाल्ने कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

अहिले दुबैपक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् । ओली पक्ष प्रधानमन्त्री कार्यालयमा छलफलमा जुटेको छ भने वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफल गरिरहेका छन् ।

कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता छन् । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन् । माओवादी केन्द्र छाडेर आएका नेताहरूको व्यवस्थापन लगायतका विषयमा पनि सहमति जुट्न बाँकी छ ।

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो ।अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले आजै सहमतिको घोषणा हुन सक्ने बताएका छन् ।