March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, निजी कार्गो ढुवानीका लागि अनुमति

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, निजी कार्गो ढुवानीका लागि अनुमति

नेपाल र भारतबीचको विद्यमान रेल सेवा सम्झौता संशोधन भएको छ । दुई देशबीचको संशोधन पत्र आदानप्रदान (एलओई) मा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका लागि रेलवे बोर्डका एडिसनल मेम्बर सुशान्त कुमार मिश्रले हस्ताक्षर गरेका छन् । शुक्रबार एक भर्चुअल कार्यक्रम आयोजना गरी हस्ताक्षर आदानप्रदान गरिएको हो ।

Advertisement

संशोधनमा नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय निजी रेल सेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ । यस्तै, सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेश बिन्दु वीरगञ्ज रहेकामा अब रेल सेवाको पूर्वाधार भएको सीमावर्ती सहरमा पनि आयात–निर्यात व्यापारमा सहज हुन सक्ने सुविधा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।

Advertisement

संशोधनमा दुवै देशका निजी रेलसेवालाई समेत कार्गो ढुवानीका लागि अनुमति दिने व्यवस्था उल्लेख गरिएको छ । यसमा नेपाल र भारतका निजी रेल सेवालाई पनि नेपालबाट र भारतीय बन्दरगाहबाट नेपालतर्फको कार्गो ढुवानी गर्न सकिने छ । रेल सेवा सम्झौतामा सन् २०१२ पछि कुनै संशोधन भएको थिएन । संशोधन भएसँगै भारतीय रेल–वेको सहायक कम्पनी कन्टेनर कर्पोरेसन इण्डिया कंकरको एकाधिकार तोडिएको छ । कंकरले रेलको इन्जिन लोकोमोटिभ नदिदा नेपाल ल्याउनुपर्ने कन्टेनरहरु बीच बाटामै रोकिने वा ढुवानीमा ढिलाई हुने गरेको थियो ।

नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाली रेल सेवाले भारतीय बन्दरगाहसम्म हल्दिया र कोलकत्ता बन्दरगाहसम्म पहुँच पाउने तथा नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्न पाउने संशोधनमा उल्लेख छ ।

हाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरुवामा पुर्वाधार तयार भएपछि दुवै देशका सीमा नाका अन्य पारवहन विन्दु तथा द्विपक्षीय व्यापार नाकाहरुमा रेल सेवा विस्तार हुदै जाने पनि सहमति भएको छ । साविकमा नेपालमा हुने आयात निर्यातका लागि रेल सेवामा लाग्ने सेवा शुल्क अग्रिम रुपमा कोलकत्तामा तिर्नुपर्ने बाध्यता रहेपनि अब भने नेपाली बैंकबाट सोझै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको विज्ञप्तीमा उल्लेख छ ।

संशोधनले दुवै देशको व्यापार तथा पारवहन सम्बन्ध थप सुदृढ हुने उद्योग मन्त्रालयलको विश्वास छ । एलओई आदान प्रदान कार्यक्रममा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालगायतको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।