April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

वर्षमा १५ पटक इन्धनको मूल्यबृद्धि, १ लिटर पेट्रोलमा ५४.४७ रूपैयाँ सरकारलाई कर

असार २७, काठमाडौं ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय निरन्तर रुपमा अस्वाभाविक ढंगले बढीरहेको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्षमा १५ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्य कुल १८ पटक समायोजन हुँदा ३ पटक मूल्य घटेको थियो । त्यसमा १–१ रुपैयाँ गरेर डिजेल र मट्टीतेलको भाउ घटाएको छ, बाँकी समय मूल्यवृद्धि भएको छ । पेट्रोल भने कुनै पनि समय नघटाएर निरन्तर वृद्धि गरिएको छ ।

Advertisement

एक वर्षको अवधिमा पेट्रोल प्रतिलिटर २७ र डिजेलमा प्रतिलिटर २४ रुपैयाँ बढेको छ । जुन एकै वर्षमा बढेको अहिलेसम्मकै उच्च बिन्दु हो । गत मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ कायम भएको छ । मंगलबार नै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रूपैयाँ वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ प्रति १ हजार लिटर १९ डलरले बढेर ७ सय ५४ डलर मूल्य कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य पनि २५ रूपैयाँले वृद्धि भई अब प्रतिसिलिन्डर १ हजार ४ सय २५ रूपैयाँ मूल्य कायम भएको छ ।

Advertisement

एक वर्षमा १८ पटक मुल्य समायोजन हुँदा पनि निगमले घाटामै रहेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेर खरिद दरसमेत बढ्दा सोही दरमा मूल्य समायोजन नगरी घाटा सहेको निगमको दाबी छ । मंगलबारको मूल्य वृद्धिपछि पनि पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा व्यहोर्नुपरेको निगमको भनाई छ । यसअघि १५ दिनमा निगमलाई ६५ करोड रूपैयाँ घाटा थियो । अघिल्लो मूल्य समायोजनको बेला लकडाउन भएकाले पेट्रोलियम पदार्थको बिक्री कम थियो र घाटा पनि कम थियो ।

घाटा सहेर इन्धन बिक्री गरेका कारण चालू आर्थिक वर्ष ०७७÷७८ मा करिब ४ अर्ब रुपैयाँ नोक्सानीमा जाने निगमको प्रारम्भिक प्रक्षेपण छ । ०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली लागू गरेयता निगम पहिलोपटक नोक्सानीमा जान लागेको हो । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले २२ असारमा सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु बाध्यात्मक भएको बताए । डलरको मूल्य, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य र राजस्वका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको उनको भनाई रहेको छ ।

२६ असार ०७७ मा मूल्य समायोजन गर्दा निगमले पेट्रोल १ सय २ र डिजेल तथा मट्टीतेल समान ८८ रुपैयाँ प्रतिलिटर थियो । त्यस्तै, आन्तरिक वायुसेवा विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धन ६५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य ८ सय ६८ डलर प्रतिकिलोलिटर थियो । खाना पकाउने एलपी ग्यास १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिन्डर थियो । चालू आर्थिक वर्षको सुरुवातमा यही मूल्य कायम थियो । तर, त्यसपछि निरन्तर मूल्य बढेर चालू आवको अन्त्यमा आइपुग्दा पेट्रोल १ सय २९ रुपैयाँ, डिजेल तथा मट्टीतेल समान १ सय १२ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ ।

पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २४ रुपैयाँ मूल्यवृद्धि भएको हो । त्यस्तै, आन्तरिक हवाई इन्धनतर्फ १९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्यासमा ५० रुपैयाँ प्रतिसिलिन्डर महँगो भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने सरकारको हस्तक्षेपपछि निगमले २३ जेठमा भारी मूल्य कटौती गर्दै ७ सय १५ डलर प्रतिकिलोलिटर कायम गरेको थियो । त्यतिखेर एकैपटक १ सय ७८ डलर प्रतिकिलोलिटर मूल्य घटाए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको भन्दै निगमले एक महिनामै ३९ डलर प्रतिकिलोलिटर मूल्य बढाएर ७ सय ७४ डलर प्रतिकिलोलिटर पु¥याएको छ । यद्यपि, आवको सुरुको तुलनामा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय १४ डलर प्रतिकिलोलिटर सस्तो भएको छ ।

के कारणले हुन्छ मूल्यवृद्धि ?

नेपालको पेट्रोलियम पदार्थको मूल्य आन्तरिक कारण, अन्तर्राष्ट्रिय बजार मूल्य एवं इन्डियन आयल कर्पोरेसन (आईओसी) मा आधारित हुन्छ। मुख्यतः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा नेपालमा स्वतः मूल्यवृद्धि हुने गर्छ।

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा झरेको कच्चा तेलको भाउ फेरि उकालो लाग्न थालेको छ।बीबीसीको एक रिपोर्टका अनुसार कच्चा तेलको मूल्य महामारीअघिको तहमा पुग्ने क्रममा छ। कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण इन्धनको माग नहुँदा त्यसको अन्तर्राष्ट्रिय बजारमा असर परेको थियो। त्यतिबेला तेल कम्पनीहरूले बढी भएको आफ्नो उत्पादन भण्डारण गर्न ट्यांकर भाडामा लिएका थिए। त्यसले गर्दा अमेरिकामा इतिहासमै पहिलोपल्ट तेलको भाउ ऋणात्मक भएको  उल्लेख छ। अन्तर्राष्ट्रिय मूल्यमा बारम्बर परिवर्तन हुनाले र हाल अन्तर्राष्ट्रिय बजारमा नै मूल्यवृद्धि भएको कारणले पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ।

सरकारको बजेट र निगमका नीतिहरूका कारण पनि पेट्रोलियम पदार्थको मूल्यमा असर पर्ने गर्छ।  यसैगरी नेपाल सरकारले सबै पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि करबाहेक नै प्रतिलिटर निश्चित रकम तोकेर राजस्व उठाउने गरेको छ। नेपालले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग इन्धन खरीद गरेर मुलुकमा बिक्री वितरण गर्छ। त्यसैले नेपालको पेट्रोलियम पदार्थको मूल्य आईओसीले तय गरेकै मूल्यमा आधारित हुन्छ। नेपाली बजारमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यसँगै आईओसीको मूल्यमा पनि निर्भर हुन्छ। आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नयाँ समायोजित मूल्य पठाउने गर्दछ र त्यसैअनुरूप नेपालले पनि आवश्यकता अनुरूप मूल्य समायोजन गर्दछ।

यी सँगसँगै नेपाल सरकारको बजेट र निगमका नीतिहरूका कारण पनि पेट्रोलियम पदार्थको मूल्यमा असर पर्ने गर्छ। सरकारले गत सालको बजेटमा पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्ने भन्सार महसुल बढाएको थियो जसले गर्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो। यसैगरी नेपाल सरकारले सबै पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि करबाहेक नै प्रतिलिटर निश्चित रकम तोकेर राजस्व उठाउने गरेको छ। यसबाहेक लिइने अन्य करहरू र अन्तःशुल्कका कारण पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुने गर्दछ।

कति लिन्छ सरकारले कर ?

निगमले सरकारलाई १ लिटर पेट्रोलमा २५ रूपैयाँ २० पैसा भन्सार शुल्क, ०.०२५ रूपैयाँ भन्सारको सेवा शुल्क, ४ रूपैयाँ सडक मर्मत शुल्क र १.५० रूपैयाँ प्रदुषण शुल्क, १० रूपैयाँ पूर्वाधार कर र १२ रूपैयाँ ६५ पैसा मूल्य अभिवृद्धि करको रुपमा बुझाउनुपर्छ । उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रूपैयाँ ४७ पैसाँ सरकारलाई कर तिर्ने गरेका छन् । डिजेलमा सरकारले ३७ रूपैयाँ कर लिन्छ । उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रूपैयाँ भन्सार कर, ०.०२५ रूपैयाँ भन्सार सेवा शुल्क, २ रूपैयाँ सडक मर्मत शुल्क, ०.९३ रूपैयाँ पीएसएफ र १०.६९ रूपैयाँ भ्याट सरकारलाई बुझाउनु पर्छ । उपभोक्ताले पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्चका लागि ६८ पैसा, निगमको प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चका लागि १ रूपैयाँ ७२ पैसा र निगमको विभिन्न खर्चवापत ४ रूपैयाँ ५७ पैसा कर लिने गरेको छ ।