October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६० प्रतिशत नजिक, असारमा दैनिक २ अर्बका दरले खर्च

चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६० प्रतिशत नजिक, असारमा दैनिक २ अर्बका दरले खर्च

असार २८, काठमाडौं ।
चालू आर्थिक वर्षमा सरकारको पुँजीगत खर्च ६० प्रतिशत मात्र पुग्ने देखिएको छ । दोस्रो लहरको कोभिड–१९ महामारीको जोखिम, यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र सरकारको कमजोर क्षमताका कारण विनियोजित पुँजीगत बजेट भन्दा कम रकम खर्च हुने देखिएको हो ।

Advertisement

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गरेका थिए । तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू आर्थिक वर्ष सकिन तीन दिनमात्र बाँकी छ । सरकारको आफैंले गरेको २० प्रतिशतभन्दा बढी असारमा खर्च नगर्ने निर्णय लत्याएर बजेटरी अनुशासन पालना नगरेको अर्थविद्हरु बताउँछन् ।

Advertisement

विगत १२–१५ वर्षदेखि असारमा मात्रै ४० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुने गरेको भन्दै त्यो खर्च भएको रकमको गुणस्तर हेर्नुपर्ने विज्ञहरु बताउँछन् । सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्षको अन्त्य हुन लाग्दा शुक्रबारसम्म १ खर्ब ९२ करोड खर्च गरेको छ । अहिले कोभिड महामारीको जोखिम र यसको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमले विकास निर्माणका कामहरू रोकिए । आर्थिक गतिविधि सुस्त भए । कतिपय राष्ट्रिय गौरव तथा प्राथमिकताका आयोजनाको काम ठप्प भए, भने अधिकांशको क्षमताको ३० देखि ५० प्रतिशतसम्म मात्रै काम भइरहेको थियो । यसले गर्दा खर्च हुन नसकेको अधिकारीहरुको भनाई रहेको छ ।

अहिले निषेधाज्ञा खुकुलो भएसंगै असारमा अधिकांश खर्च बढेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनामा दैनिक करिब २ अर्बको दरले २५ दिनमा मात्रै कूल ४९ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । यो पहिलेको तुलनामा निकै नै धेरै हो । यसअघि प्रतिदिन ४२ करोड ८४ लाख खर्च हुने गरेकोमा असार लागेसँगै प्रतिदिन झण्डै पाँच गुणा बढी अर्थात् २ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ ।

सरकारी नीति अनुसार असार २५ गतेदेखि सामान्य खर्चका लागि चेक काट्न नपाइने नियम रहेको छ । तर, विषेश कार्यक्रमका लागि ३१ गते सम्मनै चेक काट्न मिल्ने महालेखा नियन्त्रक कार्यालयको भनाइ छ । पुँजीगत खर्चको तुलनामा चालु बजेट भने विगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्षमा पनि अधिक खर्च भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ९ खर्ब ४९ अर्ब रुपैयाँ चालू बजेटअन्तर्गत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, हालसम्म ८८.०५ प्रतिशत अर्थात्, ८ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ५४.११ प्रतिशत अर्थात्, ९३ अर्ब ५० करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

झण्डै ८६ प्रतिशत राजस्व संकलन

सरकार राजस्व संकलनमा भने लक्ष्य नजिक पुग्न लागेको छ । हालसम्म सरकारले ८६ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २४ सम्ममा सरकारले विभिन्न कार्यालय तथा विभागहरूबाट कुल ८६.१६ प्रतिशत राजस्व संकलन गरेको छ । सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये असार २४ गतेसम्ममा ८ खर्ब ७१ अर्ब ७० करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८६.१६ प्रतिशत हो ।

यस अवधिमा सरकारले कर राजस्व ८८.९७ प्रतिशत संकलन गरेको छ । कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सरकारले असार २४ सम्ममा ८ खर्ब १२ अर्ब २८ करोड १९ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ६४.०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । सरकारले ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा सो समयमा ७ खर्ब १२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो ।