October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

सर्वोच्चको फैसलाले सेयर बजारमा प्रभाव, ४५ अंकले ओर्लियो नेप्से

सर्वोच्चको फैसलाले सेयर बजारमा प्रभाव, ४५ अंकले ओर्लियो नेप्से

असार २८, काठमाडौं ।

Advertisement

सोमबार दिउँसो सर्वोच्च अदालतले दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि सेयरबजारमा केही प्रभाव देखिएको छ। बजार परिसूचक नेप्से बिहान ११ बजे बजार खुलेयता नै ओरालो लागिरहेको थियो। तर  पुनर्स्थापनाको फैसलाको समाचारसँगै ह्वात्तै ओर्लिएको हो।

Advertisement

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटन असंंवैधानिक ठहर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । यस फैसलापछि प्रतिनिधि सभा ब्युँतिएको छ । तर कतिपय लगानीकर्ता अन्योलमा परेको र केहीले प्यानिक सेल समेत गरेका कारण बजार अलिबढी प्रभावित भएको अनुमान गरिएको छ । कतिपयलाई राजनीतिक अन्योलता अझै बढेर जान सक्छ भन्ने आशंका भएकाले पनि बजार प्रभावित भएको हो ।

सोमबार नेप्से परिसूचक ४५.१२  अंकले गिरावट भइ २८५४.८४ विन्दुमा कायम भएको छ।आइतबार नेप्से ७४.७ अंकले बढेको थियो। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.५८ अंकले घटेर ५३४.८५ विन्दुमा कायम भएको छ।

परिसूचक घटे पनि आज कारोबार रकम बढेको छ। नेप्सेमा आज कूल ९अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २२९ वटा कम्पनीका दुई करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९२ हजार १९२ पटक खरिद बिक्री भएका थिए।

सोमबार बैंकिङ २२, ब्यापार ६०, होटल तथा पर्यटन १०६, विकास बैंक ९७, जलविद्युत ६०, फाइनान्स २१, निर्जीवन बीमा २४०, उत्पादन ११८, अन्य ३१, माइक्रोफाइनान्स ७२, जीवन बीमा २५४ र लगानी समूह २ अंकले घटे। समृद्धि फाइनान्सको मूल्य ५ प्रतिशतले बढेको छ। अन्य बढेका कम्पनीको मूल्यवृद्धि ३ प्रतिशतभन्दा मुनि रह्यो। युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ओरेन्टल होटलको मूल्य ५ प्रतिशतले घटेको छ।

त्यस्तै माहुली सामुदायिक लघुवित्त, शिवश्री हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र नेसनल हाइड्रोपावरको मूल्य ४ प्रतिशत धेरैले घटेको छ।

आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सेयर सबैभन्दा धेरै ४७ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा नबिल इक्युटी फण्ड सबैभन्दा धेरै १९ लाख ८७ हजार ६०९ कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै तीन हजार १७५ पटक किनबेच भएका थिए।