March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

‘निजी क्षेत्रलाई समेत सुनको आयात अनुमति दिनुपर्ने’, ‘बैंकबाट मात्र खरिद गर्दा बजारमा अभाव’

‘निजी क्षेत्रलाई समेत सुनको आयात अनुमति दिनुपर्ने’, ‘बैंकबाट मात्र खरिद गर्दा बजारमा अभाव’

असार २९, काठमाडौं ।
सुन व्यवसायीले आफूहरुले पनि सुनको आयात गर्न पाउनुपर्ने माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले निजी क्षेत्रलाई समेत सुनको आयात अनुमति दिनुपर्ने माग गरेका हुन् । मौद्रिक नीतिको पूर्वसन्ध्यामा दुबै संगठनले सरकारले तोकेको निश्चित कोटाको सुन बैंकले आयात गर्दा हाल बजारको माग धान्न नसक्ने देखिएको भन्दै सुन व्यवसायीहरुले कोटा प्रणाली नै हटाउनुपर्ने बताएका छन् । हाल लागु कोटा प्रणालीलाई अन्त्य गर्दै निजी क्षेत्रलाई पनि सुनको आयात गर्न दिनुपर्ने व्यवसायीको भनाई छ ।

Advertisement

अहिलेको खुल्ला बजार नीतिको प्रयोगमा विश्व नै अघि बढिरहेको अवस्थामा नेपालमा भने सुन पैठारीको एकाधिकार वाणिज्य बैङ्कहरूलाई मात्र दिएको भन्दै महासङ्घले अपन जनरल लाइसेन्सको अवधारणमा सुन पैठारीको अधिकार अब निजी क्षेत्रलाई पनि दिनुपर्ने बताएको छ ।
बैंकहरुले मात्र आयात गर्दा समयमा सुन आउन नसकेको र बजारको माग पूरा नभएको भन्दै निजी व्यवसायीहरुलाई सुनको आयात अनुमति दिन माग गरेको रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए ।

Advertisement

निजी व्यवसायीहरुलाई सुन आयात दिए समयमै बजारमा सुनको आपूर्ति हुने र काम गर्न सहज हुने उनको भनाई छ । त्यस्तै सुनचाँदी व्यवसायलाई हाई रिक्स जोनबाट हटाउनु पर्ने, कोभिड प्रभावित अन्य व्यवसायहरू जस्तै सुनचाँदी व्यवसायले पनि सरकारबाट पाउनुपर्ने राहत सहुलियतका छुटहरू पाउनु पर्ने, सुनचाँदी व्यवसायको क्षेत्रमा लाग्ने र लाग्न चाहनेहरूका लागि आवश्यक तालिमको व्यवस्था हुनुपर्ने, बैङ्कहरूबाट वार्षिक रूपमा छुट्याइने सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगतको खर्चबाट कम्तीमा १० प्रतिशत सुनचाँदी व्यवसायको क्षेत्रमा खर्च गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

व्यवसायीहरुका अनुसार बैंकहरुले आफुखुसी सुन ल्याउने हुँदा आयातमा ढिलाइ भैरहेकाले सिजनको समयमा सँधै बजारमा सुनको अभाव देखिने गरेको छ । कोटा प्रणाली कायमै राख्ने हो भने हाल दैनिक २० केजी देखि बढाएर प्रतिकेजी ३० केजी बनाउनु पर्ने उनीहरुको भनाई रहेको छ । वार्षिक रुपमा कति सुनको माग हुन्छ त्यसलाई हेरेर सिजनमा आवश्यकता भन्दा बढी आयात गर्ने र अफ सिजनमा कम आयात गर्ने व्यवस्था गर्नुपर्ने पनि व्यवसायीहरुको माग छ ।

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष सार्वजनिक गर्ने मौद्रिक नीतिमा सुन कारोबारको कोटा निर्धारण गर्ने गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको कोटाअनुसार वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामका दरले सुन बिक्री गर्दै आएका छन्। तर, विज्ञहरु भने २० केजी सुन पनि मुलुकको अर्थतन्त्रले धान्न नसक्ने भएकाले कोटा बढाउन नहुने बताउँछन्। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सुन आयातमा कोटा निर्धारण नगर्दा राष्ट्र बैंकलाई विदेशी मुद्रा उपलब्ध गराउन हम्मेहम्मे पर्ने बताउँछन्।

कसरी पाइन्छ सुन आयात गर्न ?

नेपालमा कुनै बेला सुनको कारोबारलाई अवैध मानिथ्यो।  २०४९ सालसम्म नेपालमा सुनको कारोबार अवैध थियो। त्यसपछि विस्तारै सुन कारोबारलाई औपचारिक मान्यता दिन थालियो।

२०६२ सालदेखि भने सुन व्यवसायीहरुले नेपालमा आफूले गरेको सुनको व्यावसाय देखाएर सुनको आयात गर्न पाइने व्यावस्था गरियो। त्यतिबेला सुन कारोबार गर्ने व्यापारी ओपन जनरल लाइसन्स (ओजीएल) लिएर विदेशमा एलसी खोलेर सुनको कारोबार गर्न सक्थे। यो सँगै नेपाल सुनको कारोबारले कानुनी मान्यता पायो ।२०६६ सालअघि नेपालमा खुल्ला रुपमा सुनको आयात गर्न पाइने बनाइयो ।

खुल्ला रुपमा सुनको कारोबार गर्न पाइने भएपछि सुनको तस्करी बढेको भन्दै नेपालमा २०६६ सालमा सुनको कारोबार बन्द भयो। परम्परागत रुपमा सुनको व्यावसाय गर्नेहरुको रोजीरोटी गुमेको भन्दै व्यावसायीरुहरुले आन्दोलन गरेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्नसक्थे। तर त्यसलाइ बढाएर दैनिक १५ किलो हुँदै अहिले दैनिक २० किलो सुन आयात गर्न राष्ट्र बैंकले अनुमती दिन्छ । अहिले नेपालमा ढिक्का सुनको कारोबार बैंकहरुले मात्रै गर्न पाउने व्यावस्था छ। बैंकहरुले सुनको कारोबार गर्न चाहेमा नेपाल राष्ट्र बैंकलाई निवेदन दिएर स्वीकृति पाएपछि आयात गर्न सक्छन्।

कसरी निर्धारण गरिन्छ नेपालमा सुनको मूल्य ?

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राती १२ बजे कायम भएको प्रतिऔंस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यावसायीको नाफा जोडेर तय गरिन्छ।

अहिले प्रति १० ग्राम सुन आयात गर्दा भन्सार दरको रुपमा ६ हजार सरकारलाई बुझाउनु पर्छ। त्यस्तै बैंकले सुन आयात गर्दाको लागत र आफ्नो नाफाको रुपमा छुट्टै ०.५ प्रतिशत मूल्य थप गर्छ। त्यसमा व्यावसायीले आफ्नो नाफाको रुपमा ०.५ प्रतिशत पनि छुट्याएका हुन्छन्। नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिएको छ।