August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

जापानले नेपाललाई एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप दिने

जापानले नेपाललाई एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप दिने

असार २९, काठमाडौं ।

जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । जापानले अक्सफोर्ड र अष्ट्राजेनेकाले बनाएको खोप दिने भएको हो। काठमाडौंस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ ।

यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

जापानले दिने खोप जुलाई मध्यदेखि अगष्ट अन्तिमसम्ममा आइपुग्ने छ। खोप आइपुग्ने मिति भने यसको खरिद प्रक्रिया टुंगिएपछि निश्चित हुने दूतावासको विज्ञप्तिमा उल्लेख छ। जापानले पठाउन लागेको अक्सफोर्ड/अष्ट्राजेनेकाको खोप जापानमा नै उत्पादन गरिएको हो।

उक्त खोपले यसअघि भारतको सेरम इन्स्टिच्युटमा उत्पादित कोभिसिल्ड खोपको पहिलो डोज लगाएका वृद्धवृद्धालाई दोस्रो डोज लगाउन पुग्नेछ। कोभिसिल्ड पनि अक्सफोर्ड र अष्ट्राजेनेकासँगको समन्वयमा सेरम इन्स्टिच्युटले भारतमा उत्पादन गरेको हो।