October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

अर्थमन्त्री शर्माको पहिलो तीन निर्णय, खोप खरिदका लागि ५ अर्बको सहमति

अर्थमन्त्री शर्माको पहिलो तीन निर्णय, खोप खरिदका लागि ५ अर्बको सहमति

असार ३०, काठमाडौं ।

Advertisement

 नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

यस्तै, उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमतिअनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन् । यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहने बताउँदै अर्थमन्त्री शर्माले महामारीको समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक रहेको बताए । मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार अर्थमन्त्री शर्माले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिद गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जाने गरी प्रदेश र स्थानीय तहहरुलाई ५२ करोड ४६ लाख ४० हजार निकासा दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

यसैगरी, निःशुल्क उपचार गराएका एवं विभिन्न भत्ताबापत सिर्जना भएको दायित्व व्यवस्थापनका लागि संघीय अस्पताल र निजी अस्पतालहरुको हकमा ५६ करोड ४१ लाख ५७ हजार र प्रदेशका सामाजिक विकास मन्त्रालयमार्फत प्रादेशिक र स्थानीय अस्पतालहरुमा लागि जाने गरी ३७ करोड २४ लाख ९० हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका अर्थ मन्त्रालयका प्रवक्ता आचार्यले जानकारी दिए ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो । आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय पनि गरेको थियो ।