October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

नयाँ सरकार गठनपछि झिनो अकंले बढ्यो नेप्से, कमाउनेमा हाइड्रोपावरका लगानीकर्ता अघि

नयाँ सरकार गठनपछि झिनो अकंले बढ्यो नेप्से, कमाउनेमा हाइड्रोपावरका लगानीकर्ता अघि

असार ३०, काठमाडौं ।

Advertisement

सरकार परिवर्तन भएसँगै बजेट र मौद्रिक नीतिको अन्योलता बढ्दा शेयर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेका छन् । जसले गर्दा नेप्सेमा सूचक तथा कारोबारमा झिनो सुधार देखिएको छ । सर्वोच्च अदालतको परमादेश बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेटको वैधतामा प्रश्न उठेपछि यसको प्रभाव शेयरबजारमा पनि देखिएको छ ।

Advertisement

नयाँ सरकारले नयाँ बजेट ल्याउने चर्चा चलिरहदा शेयर लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । कतिपयले सत्ता परिवर्तनको माहोलमा बजारमा चलखेल प्रयास गर्न खोजेपनि लगानीकर्ता संयमित हुँदा बजारमा स्थिरता देखिएको छ । नयाँ सरकार गठन भएपछि नयाँ बजेट मात्र होइन तयारी अवस्थामा रहेको मौद्रिक नीति सार्वजनिक गर्न समेत केहि ढिलाई हुनसक्ने हुँदा शेयर लगानीकर्ताको पर्खाई लम्बिने भएको छ ।

छोटो समयमा धेरै घटेको बजार माथि जानुअघि केही समय साइवेजमा रहने हुन सक्छ । कतिपयले सेयर बजारलाई नयाँ अर्थमन्त्रीसँग पनि जोडेर विश्लेषण गरिरहेका छन् । जनार्दन शर्माका लागि अर्थ मन्त्रालय नयाँ भए पनि मन्त्रीका रुपमा भने उनी नयाँ होइनन् ।
विशेषगरी ऊर्जा मन्त्रालयमा हुँदा अन्धकार हटाउन कुलमानलाई सहयोग गरेर उनी निकै प्रशंसित भएका थिए । उनको छवि पनि राम्रो मानिएको छ । यसर्थ, उनले विषयवस्तुहरुलाई सुक्ष्म ढ्रंगले आफैं अध्ययन गर्छन् भनिन्छ । बजार सामान्य प्रभावित भए पनि समग्रमा पुँजी बजारका लगानीकर्ता पनि प्रारम्भिकरुपमै उनीसँग खुशी देखिएका छन् । आम लगानीकर्ता उनीप्रति सकारात्मक छन् ।
तथापि, अर्थ मन्त्रालयमा उनको काम र निर्णयहरु आउन बाँकी नै छ । सेयर बजारलाई सकारात्मक गतिमा लैजान उनले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । विशेषगरी, केन्द्रीय बैंक, धितोपत्र बोर्ड, बिमा समिति, नेप्से लगायतका निकायहरुसँग उनले समन्वयकारी भूमिका निर्वाह गर्ने धेरैको विश्वास छ । यसआधारमा पुँजी बजारका लगानीकर्ताहरु त्रसित हुनुपर्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् ।
यतिबेला सेयर बजार सुस्त हुनुमा मसान्तको असर मानिएको छ । यो आर्थिक वर्ष सकिन अब बिहीबार १ दिनमात्र बाँकी छ । मसान्तको असरले पनि बजार सुस्त भएको कतिपयको भनाई छ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) १.०१ अंकले बढेको छ । बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०४ प्रतिशतले बढेर २८७१.८१ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक ०.१४ अंकले घटेर ५३९.३८ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये पाँच उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् । त्यस्तै २ सय १४ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार ५ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २ सय ५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन बैंकिङ ६, ब्यापार ११, विकास बैंक ११, निर्जीवन बीमा ८२, उत्पादन १५, अन्य १०, माइक्रोफाइनान्स १९ र जीवन बीमा ३२ अंकले घटेका छन्। होटल तथा पर्यटन ७, जलविद्युत ७४ र फाइनान्स समूह ३५ अंकले बढे।

यस दिन हिमालय पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढेको छ। त्यस्तै नेपाल फाइनान्सको मूल्य ७.७, कालिका पावरको ७. १, एभरेष्ट इन्स्योरेन्स संस्थापक समूहको मूल्य ६.६ प्रतिशतले बढेको छ। रसुवागढी हाइड्रोपावरको मूल्य ५.९ र सान्जेनको मूल्य ५.७ प्रतिशतले बढेको छ।

यस दिन सूर्योदय लघुवित्तको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ। घट्ने अरु कम्पनीको मूल्य गिरावट २ प्रतिशतमुनि रह्यो। बुधबारको बजारमा गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । छिमेक लघुवित्त २२ करोड, हिमालयन डिष्टिलरी १९ करोड, निर्धन उत्थान १६ करोड, नबिल ब्यालेन्स्ड फण्ड १५ करोड, नेपाल लाइफ १४ करोड, नबिल बैंक १३ करोड, नेपाल बंगलादेश बैंक १३ करोड, मञ्जुश्री र एनआईसी एशिया बैंकको पनि १२ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।