April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

माछापुच्छ्रे बैंकको ऋणपत्र आजबाट बिक्रिमा, कति पाइन्छ ब्याज ?

काठमाडौं – बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएपछि बैंकहरुले दीर्घकालीन स्रोत परिचालन गर्ने उदेश्यका साथ पछिल्लो समय ऋणपत्र जारी गर्ने विधि अपनाउन थालेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडले पनि आज यस्तो रणनीति अपनाएको छ । बैंकले  आजबाट ऋणपत्र बिक्रिमा ल्याएको छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । वार्षिक साढे ८ प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

Advertisement

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको जनाएको छ । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

Advertisement

सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ऋणपत्र खरिदका लागि छिटोमा साउन ४ र ढिलोमा साउन १७ गते सम्ममा आवेदन दिन सकिने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर सिङ्गल ए माइनस एटदरेट’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने र कर्जा जोखिम न्यून भएको मानिन्छ ।

बैंकले बिक्री गर्ने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।