April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

नेप्सेमा ३ खर्ब ३२ अर्ब बढीको धितोपत्र सुचिकृत

असार ३१, काठमाडौं ।

Advertisement

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा रु.३ खर्ब ३२ अर्ब बढीको  धितोपत्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकले ११ महिनाको विवरण सार्वजनिक गर्दै ३ खर्ब ३२ अर्ब ८७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका जनाएको हो ।

Advertisement

एघार महिनामा रु.२ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, रु.४३ अर्ब ५८ करोड बराबरको बोनस शेयर, रु.४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, रु.१७ अर्ब ५५ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र रु.४ अर्ब १० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.३ खर्ब ३२ अर्ब ८७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२० अर्ब ५४ करोड बराबरको डिबेन्चर, रु.१४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर, रु.१३ अर्ब ५४ करोड बराबरको साधारण शेयर र रु.८ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.५६ अर्ब ५३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ जेठसम्ममा सूचीकृत ५ अर्ब ८२ करोड शेयरको चुक्ता मूल्य रु.५७२ अर्ब ९२ करोड रहेको छ ।

२०७८ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४२ खर्ब १६ अर्ब पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७८ जेठमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।