September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

प्रदेश २ सरकारले गर्यो विनियोजित बजेटको ६५ दशमलव ५६ प्रतिशत मात्र खर्च

प्रदेश २ सरकारले गर्यो विनियोजित बजेटको ६५ दशमलव ५६ प्रतिशत मात्र खर्च

प्रदेश २ सरकारले गत आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित बजेटको ६५ दशमलव ५६ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश सरकारले गत आर्थिक वर्षमा बजेट खर्च ६५ दशमलव ५६ प्रतिशत मात्र रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७÷७८ मा पुँजिगत तर्फ २० अर्ब ३६ करोड ७५ लाख ४४ हजार, चालु तर्फ १४ अर्ब १७ करोड ६८ लाख ७ हजार र वित्तिय तर्फ १६ करोड गरी कुल ३४ अर्ब ७० करोड ४३ लाख ५१ हजार बजेट रहेकोमा त्यसको ६५ दशमलव ५६ प्रतिशत बजेट खर्च गरेको हो । यो खर्च अधिल्लो बर्षको तुलनामा बढी हो । प्रदेश सरकारले गत आर्थिक वर्षमा पुँजिगत तर्फ कुल बजेटको ६८ दशमलव ८७ प्रतिशत र चालु तर्फ ६१ दशमलव ५६ प्रतिशत बजेट खर्च गरेको थियो ।

Advertisement

यस अघि प्रदेश सरकारले ११ महिनाको अवधिमा पुँजिगत तर्फ २९ दशमलव २३ प्रतिशत र चालु तर्फ ३४ दशमलव ९ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको थियो । प्रदेश सरकारले चालु तर्फ विनियोजित बजेटको ६१ दशमलव ५६ प्रतिशत अर्थात ८ अर्ब ७२ करोड ७५ लाख ४८ हजार ७ सय ४ रुपैया खर्च भएको छ भने वित्तिय तर्फको बजेट खर्च हुन सकेको छैन् भने पुँजिगत तर्फ विनियोजित बजेटमध्येको ६८ दशमलव ८७ प्रतिशत अर्थात १४ अर्ब २ करोड ६१ लाख १४ हजार ४ सय १४ रुपैया खर्च गर्न सकेको हो ।