September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

रेल खरिद गरेको दश महिनापछि ‘स्पीड’ परीक्षण, संचालनमा अझै अन्योलता

रेल खरिद गरेको दश महिनापछि ‘स्पीड’ परीक्षण, संचालनमा अझै अन्योलता

रेल खरिद गरी ल्याएको झण्डै दश महिनापछि आज ‘स्पीड’ परीक्षण गरिने भएको छ । सरकारले जिटुजी प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा ल्याएको थियो । निकै तामझामका साथ रेल ल्याएपनि अन्ततः दुबै रेललाई पालले ओडाएर राखिएको छ ।

शसस्त्र प्रहरीको विशेष निगरानीमा राखिएको उक्त रेट खिया लाग्न थालेपछि बल्ल आज रेलको ‘स्पीड’ परीक्षण गर्न लागिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार जनकपुर–जयनगर रेल्वे सेवाको ट्रयाकको गति परिक्षण आज हुने भएको हो ।

Advertisement

परीक्षणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘स्पीड’ परीक्षण गरिने बताइएको छ । आज प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने बताईएको छ । जनकपुरबाट फर्किदा सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा गुड्नेछ ।

‘स्पीड’ परीक्षण गरिएपनि रेल कहिलेदेखि संचालनमा आउँने त्यो अझै निश्चित छैन् । राजनैतिक रस्साकसी र कोरोना महामारीको कारणले करोडौ खर्च गरेर ल्याएको रेल स्टेसनमा नै थन्किएका छन् । रेलका कतिपय भागहरुमा खिया लाग्न थालिसकेको रेलवे विभागका कर्मचारी बताउँछन् । कर्मचारी अभाव लगायतका कारण देखाउँदै सरकारले ल्याएको रेल समेत पाल मुनी थन्किएका हुन् ।